काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । सोमबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
यस्तै, आज दिउँसो सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने बुलेटिनमा उल्लेख छ ।
यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै लुम्बिनी प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा राति पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।