गीतकार कलाका दुई कृति एकैसाथ सार्वजनिक
अखबार टुडे
प्रकाशित:
२०८०, ५ फाल्गुन

काठमाडौं । कवि तथा गीतकार कला सेरेङका एकैसाथ दुई कृृति सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित एक समारोहबीच कलाका गीत संग्रह ‘कलाका अन्तर्मन’ र गीति भिडियो ‘अतितका यादहरू’ सार्वजनिक गरिएको हो ।

कमलादीस्थित राईजिङ मलमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति एवं कवि भुपाल राईले उक्त कृति सार्वजनिक गरेका थिए । झण्डै अढाइ दशकदेखि हङकङलाई कर्मथलो बनाउँदै आएकी कला सेरेङको यी पहिलो कृति हुन् । पुस्तक गीत संग्रहमा एक सय १५ शीर्षकका गीत तथा कविता रहेका छन् । ती गीत तथा कवितामा कलाले परदेशमा रहँदा घरदेशको सम्झनालाई विषयवस्तु बनाएकी छन् ।

कार्यक्रममा कवि कला सेरेङले डायस्पोरामा रहेर मातृभूमि नेपालको मायाले गर्दा मनका भावनाहरू साहित्यमा उतारेको बताइन् । उनले भनिन्, ‘मैले नेपाली साहित्यको इतिहास पढेर, सिद्धान्त घोकेर कुनै रचना रचेको छैन । हामी डायस्पोरामा रहेर मातृभूमि र नेपाली भाषाको श्रीवृद्धि गर्ने चाहनाले भावनाको सँगालो प्रकाशनमा ल्याएको हुँ ।’

विनोद चोङबाङले संयोजन गरेको कृतिमा डा. दिलकुमार हाङसुरुङ लिम्बू र नरेन नुगो लिम्बूले भूमिका लेखेका छन् ।
यस्तै, कवि कला सेरेङको ‘अतितका यादहरू’ गीति भिडियोको गीतलाई संगीतकार बीबी अनुरागीले संगीत दिएका छन् भने गीतमा चर्चित गायिका अन्जु पन्तले स्वर दिएकी छन् ।

उक्त गीतको भिडियोमा ओखलढुंगाको लिखु गाउँपालिका–९ पोकली वाच्पुको ग्रामीण जनजीवन समेटिएको छ । भिडियोमा परम्परागत कृषक परिवारको जीवनशैलीलाई उजागर गरिएको छ । भिडियोमा कवि कला र उनका जीवनसाथी सीएम सुनुवार स्वयंले अभिनय गरेका छन् । सीएम सुनुवार वाम्बुले राई संस्कृतिमा आधारित चलचित्र ‘सुम्निमा’को नायकसमेत हुन् ।

कार्यक्रममा प्रमुख अतिथि भूपाल राईले नेपाली कला र संस्कृतिको जगेर्ना प्रवासमा रहेका नेपालीहरुले संरक्षण गरिरहेको बताए । उनले आफ्नो अमेरिका भ्रमणमा अमेरिका बस्ने नेपालीले मौलिक नेपाली कला र संस्कृतिको जगेर्ना गरेका देख्दा खुशी लागेको बताए ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव, कलाकार, फिल्म निर्माता र पत्रकारहरुको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया