
झापा । बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह प्रयास गर्दा छोरीको मृत्यु भएको छ । आमा गम्भीर घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार शुक्रबार राति साढे ८ बजेतिर मायाले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन् । घटनामा दुवैजना गम्भीर घाइते भएको र उपचारका क्रममा बीएन्डसी अस्पतालमा शनिबार बिहान छोरी वर्षाको मृत्यु भएको थियो ।
आमा मायाको अवस्था चिन्ताजनक रहेको गिरीले बताए । मायाको शरीरको अधिकांश भाग आगोले जलेको र घटनास्थलनजिकै उनको ‘सुसाइट नोट’समेत फेला परेको प्रहरीले जनाएको छ ।
उक्त नोटमा मायाले आफ्ना पतिको परस्त्रीसँग सम्बन्धमा रहेका कारण बाध्य भई आत्मदाहको निर्णय लिनुपरेको उल्लेख गरेको प्रहरीको भनाइ छ । प्रहरीले ज्याला मजदुरी गर्दै आएका मायाका पति राजन विकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
