यातायातमन्त्री ज्वालालाई बर्खास्त गर्न एमालेको माग
अखबार टुडे
प्रकाशित:
२०८०, ५ फाल्गुन

काठमाडौं । नेकपा एमालेले भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले यातायातमन्त्री ज्वालालाई बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।

मन्त्री ज्वालालाई बालकुमारी घटना छानबिन समितिले दोषी देखाएको भन्दै उनलाई एक मिनेट पनि मन्त्री पदमा रहने छुट नरहेको भन्दै बर्तौलाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

सचेतक बर्तौलाले फेसबुकमार्फत भनेका छन्, ‘एक महिना पहिले दुईजना युवाको मृत्यु हुनेगरी बालकुमारीमा भएको घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको कमजोरीले घटना भएको निष्कर्ष निकालेको छ। मन्त्रीकै गम्भीर कमजोरी र लापरबाहीको कारण उक्त दुखद घटना भएको सरकारी आयोगले नै निष्कर्ष निकालिसकेको अवस्थामा उहाँलाई एक मिनेट पनि मन्त्रीको जिम्मेवारीमा बसिरहने छुट छैन ।’

साथै, उनले मन्त्री ज्वालाविरुद्ध प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अविलम्ब अगाडि बढाइनुपर्ने माग गरेका छन् । ‘यदि यति ठूलो घटनाको मुख्य दोषी मन्त्रीलाई चाहिँ उन्मुक्ति दिने अनि सुरक्षामा खटिएका सिपाहीहरूलाई मात्रै कारबाहीको दायरामा ल्याउने प्रयत्न गरियो भने त्यो कदापि न्यायोचित र स्वीकार्य हुने अवस्था रहँदैन’ उनले भनेका छन्, ‘त्यसैले यस सन्दर्भमा अब सम्माननीय प्रधानमन्त्री स्वयम् पनि २४ घन्टे परीक्षामा पर्नुभएको छ । हेरौँ रिजल्ट कस्तो आउँदो रहेछ ।’

पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वको जाँचबुझ आयोगले घटनाको मुख्य जिम्मेवार मन्त्री ज्वाला भएको ठहर गरेको थियो । मन्त्री ज्वालापछि सो क्षेत्रको अपरेशन कमाण्डरको भूमिकामा रहेका डीएसपी उमेश लम्साल र ज्वालाकै पीएसओ जिम्मेवार रहेको जाँचबुझ आयोगले औँल्याएको छ ।

प्रतिक्रिया