एआईको सहयोगमा बनाइएको भिडियो ‘तिमी जे बन उदाहरण बन’
अखबार टुडे
प्रकाशित:
२०८०, १ फाल्गुन

काठमाडौं । गीतकार मनोज खड्काको शब्दरचनामा ‘तिमी जे बन उदाहरण बन’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार खड्काले यो सरस्वती पूजाको छेको पारेर सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतमा प्रमोद खरेल र डा. त्रिशला गुरुङको स्वर रहेको छ । यस गीतलाई कल्याण सिंहले संगीत भरेका हुन् भने दीक्षित पौडेलले एरेन्ज गरेका छन् ।

गीतले बालबालिकालाई असल नागरिक बन्न प्रेरणा दिने सन्देश बोकेको छ । ‘गीतले आफ्नो रोजाइअनुसार जे काम गर, तर लगनशील भएर काम गर । उदाहरण बनेर देखाऊ भन्ने सन्देश बालबालिकालाई दिन्छ,’ अमेरिकामा बसोबास गर्दै आएका गीतकार खड्काले अनलाइनखबरसँग भने, ‘यो एक प्रकारले अभिभावकहरुलाई पनि आग्रह हो ।

आफ्ना सन्तान डाक्टर, प्राध्यापक, इन्जिनियर, पाइलट जस्ता निश्चित पेशामा लागेको देख्न रुचाउने परम्परागत सोचबाट माथि उठेर जुन पेशा वा व्यवसायमा लागे पनि उत्कृष्ट हुने कोसिस गर्दै हसल मान्छे बन्नुपर्छ भन्ने गीतको मूल मर्म हो ।’

एआई सिर्जित तस्वीरको सहयोगमा गीतको भिडियो तयार पारिएको छ । भिडियोको एनिमेसन कन्सेप्ट सविना थपलिया हो भने एनिमेसन र सम्पादन राजु बस्नेतले गरेका छन् । ग्राफिक्स सदीक्षा कट्टेलको छ । गीत ‘मनोज खड्का अफिसियल’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ । हाल यूएसआईडीमा समेत कार्यरत खड्का अमेरिकाको भर्जिनयामा बसोबास गर्दै आएका छन् ।

#trishala #gurung

#promod #kharel

प्रतिक्रिया