ललितपुरमा ‘अफ्रिकन स्वाइन फिभर’ पुष्टि, सचेत रहन महानगरको आग्रह
अखबार टुडे
प्रकाशित:
२०८०, २५ माघ

काठमाडौं । ललितपुर महानगरपालिकाले ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको भन्दै महानगरभरिका किसानलाई सचेत रहन आग्रह गरेको छ ।

महानगरले बिहीबार एक सूचना जारी गर्दै ‘लमजुङ, कास्की, तनहुँ, ललितपुरको गोदावरी नगरपालिका र काठमाडौंको कीर्तिपुर नगरपालिकामा समेत सुँगुरमा लाग्ने महामारीजन्य रोग ‘अफ्रिकन स्वाइन फिभर’ देखापरेको पुष्टि भएको जनाएको हो ।

‘ललितपुर महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा पालिएका बङ्गुर र सुँगुर पालक व्यवसायीले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउनु हुन तथा देहायका उपाय अवलम्बन गर्न हुन पशु सेवा शाखा हार्दिक अनुरोध गर्दछ’ विज्ञप्तिमा भनिएको छ । महानगरले किसानलाई फर्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्न भनेको छ ।

यस्तै, बंगुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाइ गरी चुना, ब्लिचिङ पाउडर फर्मालिनलगायत उपाय प्रयोग गरी निःसंक्रमण गर्न पनि आग्रह गरको छ । महानगर पशु शाखाले रोगको शंका लागेका पशुलाई स्थानबाट छुट्टाएर अलग्ग राख्ने र मरेका पशुलाई राम्रोसँग खाडलमा गाड्ने तथा जलाउनुपर्ने भनेको छ ।

घरपालुवा सुँगुर र बङ्गुरलाई जंगली बँदेलको सम्पर्कमा आउन नदिने भन्दै महानगरले रोग देखापरेको क्षेत्रबाट सुँगुर प्रजाती पाठापाठी संक्रमित मासु र दाना ओसारपसार नगर्नसमेत भनेको छ ।

यस्तै, अनिवार्य स्वास्थ्य प्रमाणपत्र लिएरमात्र स्वस्थ सुँगुर, बङ्गुर वा मासु ओसारपसार गर्नुपर्ने भन्दै होटल, रेस्टुरेन्टबाट फालिएका खानेकुरा नखुवाउन भनेको छ । महानगरले जारी गरेको सूचनामा तयारी दानाबाहेक अन्य आहारा खुवाउनुपरे राम्ररी पकाएरमात्र खुवाउन आग्रह गरेको छ ।

प्रतिक्रिया