पाकिस्तानमा आज आम निर्वाचन, प्रधानमन्त्री को बन्ला ?
अखबार टुडे
प्रकाशित:
२०८०, २५ माघ

काठमाडौं । पाकिस्तानमा आज कडा सुरक्षाका बीच आम निर्वाचन हुँदैछ । मतदान अहिले आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

मतदानको पूर्वसन्ध्यामा बलुचिस्तान प्रान्तका दुई स्थानमा भएका बम विष्फोटमा कम्तिमा २३ जनाको मृत्यु भएको थियो । हिंसात्मक घटनाका कारण निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गराउन सेना, प्रहरी र निर्वाचन आयोगलाई चुनौतीपूर्ण हुने ठानिएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षाकर्मीसहित ६ लाख ५० हजार जनालाई परिचालन गरिएको पाकिस्तानका मिडियाले उल्लेख गरेका छन् । पाकिस्तान निर्वाचन आयोगका अनुसार कूल १२ करोड ८५ लाख ८५ हजार ७६० जना मतदाता छन् । मतदानका लागि ९ लाख भन्दा बढी मतदान केन्द्र बनाइएको छ ।

निर्वाचन आयोगका अनुसार ४४ हजार मतदान केन्द्र सामान्य छन् । २९ हजार ९८५ मतदान केन्द्र संवेदनशील र १६ हजार ७६६ मतदान केन्द्र अति संवेदनशील घोषणा गरिएको छ ।

निर्वाचनमा ५ हजार १२१ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । तीमध्ये ४ हजार ८०७ जना पुरुष, ३१२ महिला र दुई जना यौनिक अल्पसंख्यक उम्मेदवार छन् ।

यस निर्वाचनले पाकिस्तानमा नयाँ प्रधानमन्त्री चुन्ने छ । यसपटक पूर्वप्रधानमन्त्री इमरान खान प्रधानमन्त्रीको प्रतिस्पर्धामा छैनन् । भ्रष्टाचार आरोपमा उनी हाल जेलमा छन् । जसका कारण उनले चुनाव लड्न पाएनन् ।

इमरान खानको पार्टी पाकिस्तान तेहरिक (ए–इन्साफ पीटीआई)ले आफ्नो चुनाव चिह्न क्रिकेट ब्याट पनि पाएको छैन । निर्वाचन आयोगले पीटीआईलाई क्रिकेट ब्याट चुनाव चिह्न प्रयोग गर्न नदिने निर्णय गरेपछि सो पार्टीका उम्मेदवारले स्वतन्त्ररुपमा प्रतिस्पर्धमा उत्रिएका छन् ।

यो निर्वाचनको प्रतिस्पर्धामा सबैभन्दा अगाडि ७४ वर्षीय पूर्वप्रधानमन्त्री नवाज शरीफ चर्चा छन् । यदि उनको पार्टी पाकिस्तान मुस्लिम लिग (नवाज पीएमएलद्दएन) ले चुनाव जितेमा नवाज शरीफ चौथोपटक प्रधानमन्त्री बन्ने छन् ।

नवाज शरीफ १ नोभेम्बर १९९० देखि १८ जुलाई १९९३ सम्म पहिलोपटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि दोस्रोपटक १७ फेबु्रअरी १९९७ देखि १२ अक्टुबर १९९९ सम्म प्रधानमन्त्री बनेका थिए । उनको दोस्रो कार्यकालमा तत्कालीन सैनिक शासक परवेज मुशर्रफले ‘कू’ गरेपछि सत्ताच्युत भएका थिए ।

सन् २०१३ मा भएको निर्वाचनपछि उनी तेस्रोपटक प्रधानमन्त्री बनेका थिए । उनी पछिल्लोपटक ५ जुन २०१३ देखि २८ जुलाई २०१७ सम्म प्रधानमन्त्री थिए ।

भ्रष्टाचारको अभियोग लागेपछि उनी चार वर्षसम्म पाकिस्तानबाट निर्वासित भएका थिए । चुनाव लड्ने तयारीका साथ उनी गत अक्टुबरमा स्वदेश फर्किएका हुन् । उनीमाथिका अभियोग चुनाव अगाडि टुंगो लगाइएको छ । साथै, पाकिस्तानको सेनाको साथ समेत उनले पाएका छन् । त्यसैले पनि यस निर्वाचनबाट उनी फेरि सत्तामा फर्किने अनुमान गरिएको छ ।

साथै, हाल जेलमा रहेका इमरान खान र उनको पार्टी पीटीआईलाई चुनाव लड्न रोक लगाइएकाले पनि नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) यस चुनावबाट सबैभन्दा ठूलो दल बनेर सरकार बनाउने अनुमान छ ।

प्रतिक्रिया