सर्वोच्चले भन्यो- ‘भ्याकेट’ निवेदनबारे निवेदकलाई जानकारी दिनु
अखबार टुडे
प्रकाशित:
२०८०, २४ माघ

काठमाडौं । सर्वोच्च अदालतले संसद् विकास कोष ब्युँताउन दर्ता भएको ‘भ्याकेट’ निवेदनबारे रिट निवेदकलाई जानकारी दिन आदेश गरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत, सपना प्रधान र सुष्मालता माथेमाको संवैधानिक इजलासले बुधबार ‘भ्याकेट’ निवेदन परेकाबारे रिट निवेदक त्रिलोकबहादुर चन्द लगायतलाई जानकारी दिन आदेश गरेको हो ।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘यसमा यस अदालतबाट मिति २०८०÷५÷६ मा भएको अन्तरिम आदेश खारेज गरी पाऊँ भनी प्रत्यर्थी संघीय संसद्, काठमाडौं समेतका तर्फबाट संघीय संसद सचिवालयका सहसचिव लक्ष्मीप्रसाद गौतमको निवेदन पर्न आएकामा सो सम्बन्धमा रिट निवेदकलाई सूचना जानकारी दिइ नियमअनुसार पेस गर्नू ।’

अधिवक्ता त्रिलोकबहादुर चन्द लगायतले संघीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा बजेट विनियोजन नगर्न माग गर्दै दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न संघीय संसद सचिवालय र सरकारका नाममा अन्तरिम आदेश गरेको थियो ।

अदालतले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै संघीय संसद सचिवालयले सर्वोच्च अदालतमा भ्याकेट निवेदन दर्ता गराएको थियो । सोही निवेदनमाथि बुधबार सुनुवाइ गर्दै अदालतले रिट निवेदकलाई जानकारी दिन आदेश गरेको हो ।

प्रतिक्रिया