कोशीमा यसरी मिलाइयो गठबन्धनबीच भागबण्डा
अखबार टुडे
प्रकाशित:
२०८०, २४ माघ

काठमाडौं । कोशी प्रदेशमा सत्ता गठबन्धनबीच भागबण्डा मिलेको छ । सरकार परिवर्तनको अखडा बनेको कोशीमा सरकार गठनको चार महिनापछि सत्ता गठबन्धन दलबीच मन्त्रालयको भागबन्डा मिलेको हो ।

९ मन्त्रालय रहेका कोशीमा कांग्रेसले मुख्यमन्त्रीसहित पाँच, माओवादीले तीन र एकीकृत समाजवादीले एक मन्त्रालय पाउने सहमति भएको छ ।

कांग्रेसबाट मुख्यमन्त्रीसहित दुई तथा माओवादी र एकीकृत समाजवादीबाट एक–एक मन्त्री छन् । बाँकी पाँच मन्त्रालय मुख्यमन्त्री केदार कार्कीले ले नै सम्हालिरहेका छन् । एक सांसद रहेको जसपा भने तत्काल सरकारमा नजाने भएको छ ।

भागबण्डामा सहमति टुंगिएसँगै आब कांग्रेसले तीन र माओवादीले दुईजना मन्त्री सरकारमा पठाउने कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बताए ।

२७ असोजमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले सहमतिसँगै सरकार विस्तारको तयारी थालेका छन् । उनले कसलाई कुन मन्त्रालयमा पठाउने भन्ने विषयमा छलफल गरी केही दिनभित्र सरकारलाई पूर्णता दिने तयारी भइरहेको बताए ।

गठबन्धनले मंगलबार नै सरकार विस्तारको तयारी गरेको थियो । तर, कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनका कारण मन्त्रिपरिषद् विस्तार रोकिएको नेताहरुको भनाई छ ।

सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले केही प्राविधिक कुराले सरकार विस्तार हुन नसकेको बताए । उनले केही दिनभित्र नै सरकारले पूर्णता पाउने बताए । २७ असोजमा एमालेको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनीसँगै कांग्रेसका शमशेर राई र एमालेका रामबहादुर मगर मन्त्री बनेका थिए । तर, १७ कात्तिकमा नियुक्त भएका माओवादीका गणेश उप्रेती र कमलप्रसाद जबेगूलाई मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री कार्कीले गठबन्धन दलबाट माओवादी र एकीकृत समाजवादीलाई भित्र्याएपछि एमालेले मगरलाई फिर्ता बोलाएको थियो । मगर २२ दिन विनाविभागीय भएर बिदा भएका थिए ।

प्रतिक्रिया