
काठमाडौं । काठमाडौं महानगरले केही दिनअघि सुन्धारास्थित धरहरा क्षेत्रमा निशल्क पार्किङ सञ्चालन ल्यायो । उक्त पार्किङ सञ्चालनमा आएपछि महानगरका मेयर बालेन शाहको चर्चा र तारिफ भइरहेको छ । न्युरोड क्षेत्रमा पार्किङ बन्द गरेसँगै महानगरले धरहराको अण्डरग्राउण्डमा निःशुल्क पार्किङको व्यवस्था गरेको हो ।
पार्किङका लागि बनाइएको तीन तलामध्ये तत्कालका लागि एक तलामा खुला गरिएको छ, जहाँ एक हजारभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने महानगरले जनाएको छ । तर, यसैबेला सहरी विकास मन्त्रालयले धरहरा निर्माण सम्पन्न भइनसकेका लागि पार्किङ बन्द गर्न भन्दै महानगरलाई पत्र लेखेको छ । सहरी विकास मन्त्रालयको पत्र पाएपछि मेयर बालेन आक्रोशित भएका छन् ।
मयेर बोलेनले लेखेको स्टाटस यस्तो छ :
२०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट ‘सेतो टावर’ उदघाटन भयो । सोही उदघाटनलाई काठमाण्डौँका तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, ‘आज एक ऐतिहासिक काम सम्पन्न भएको छ, राणाकालिन अवस्थामा भएको भए केपि ओलि टावर भन्थे । तर केहिदिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ‘धरहरा निर्माण हुँदैछ । पार्किङ बन्द गर्नु ।’
उदघाटन गरेको २ बर्ष ९ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा तत्कालीन प्रधानमन्त्री केपि ओलिले भन्नू भएको थियो, ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।
तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ । निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ ।
सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौँ ।
अन्त्यमा सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निःशुल्क सन्चालन हुँदैछ, अझै ब्यबस्थापन गर्दै लग्नेछौँ । अहिले धेरैको नजर यहाँ को पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथी रजाइ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौ महानगरमा रहुन्जेल कसैको निजि स्वार्थको लागि सार्वजनिक सम्पती प्रयोग हुन दिने छैनाैँ ।