यी हुन् आफ्नै मृत्युको अपवाह फैलाउने अभिनेत्री !
अखबार टुडे
प्रकाशित:
२०८०, २१ माघ

काठमाडौं । भारतीय किङफिशर मोडल तथा अभिनेत्री पूनम पाण्डेको निधन भएको खबर शुक्रबार सामाजिक संजालदेखि मिडियासम्म फैलियो । धेरैले पुनमप्रति सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरे ।

भारतीय प्रमुख न्यूज च्यानलहरुले पनि अभिनेत्री पसनम पाण्डेको निधनको खबर प्रमुखताका साथ प्रशारण गरेका थिए । पाठेघरको मुखको क्यान्सरका कारण पुनमको निधन भएको उनकै म्यानेजरले पुष्टि गरेका थिए । पुनमको इन्स्टाग्राममा पनि उनको निधन भएको पुष्टि गरिएको थियो ।

तर, शनिबार पुनम जिवितै रहेको खबर बाहिरियो । मोडल पुनम पाण्डेले सामाजिक संजालमार्फत ‘आफू जिउँदै रहेको’ भन्दै भिडियो सार्वजनिक गरिन् । उनले पाठेघरको मुखको क्यान्सरबाट हुने निधनको विषयमा सचेतना जगाउनका लागि आफूले मृत्युको झुटो हल्ला फैलाएको बताएकी छन् ।

उनले भनेकी छन् ‘हो, मैले मेरो मृत्युको झुटो खबर फैलाए । तर, मैले सर्भिकल क्यान्सरबारे सचेतना जगाउन यो सबै कुराहरू गरेकी थिएँ ।’

अभिनेत्री पूनमले आफ्ना फ्यानहरुसँग माफीसमेत मागेकी छन् । उनले भनेकी छन्, ‘यो यस्तो रोग हो, जसले थाहै नपाई ज्यान लिन्छ । यो रोगबारे चर्चा हुन जरुरी थियो । मेरो मृत्युको समाचारले यो सबै गरेको छ ।’

पुनमको मृत्युको खबर !

अभिनेत्री पुनम पाण्डेको इन्स्टाग्राम अकाउन्टमा शुक्रबार एउटा पोष्ट सेयर गरिएको थियो । जसमा लेखिएको थियो, ‘आजको बिहानी हाम्रा लागि कठिन छ । पाठेघरको मुखको क्यान्सरका कारण हामीले हाम्री प्यारी पूनमलाई गुमाउनु परेको जानकारी गराउँदा अत्यन्त दुःख लागेको छ । उहाँको सम्पर्कमा आउने जो कोहीलाई पनि उहाँलाई मायाले भेट्नुभयो । शोकको यस समयमा हामी गोपनीयता कायम गर्न अनुरोध गर्दछौं र उहाँहरुले साझा गरेका सबै कुराको लागि उनीहरूलाई मायापूर्वक सम्झनेछौँ ।’

यो पोष्ट सार्वजनिक भएपछि कलाकार कंगना रनावत र अनुपम खेरले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका थिए । पुनम पाण्डेको मृत्युको खबरबारे पुष्टि गर्न उनको परिवारका सदस्यहरुलाई सम्पर्क गर्न खोज्दा कि त फोन अफ भएको कि फोन नउठेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका थिए ।

अन्ततः शनिबार उनकै एकाउन्टबाट आएको पोष्टले उनको मृत्युको खबर झुटो खबर फैलिएको थियो ।
पुनम पाण्डेले सन् २०१३ मा फिल्म ‘नशा’बाट बलिउडमा डेब्यू गरेकी हुन् । उनी पछिल्लोपटक फिल्म ‘द जर्नी अफ कर्मा’मा देखिएकी थिइन् । टिभीतर्फ उनी ‘खतरों के खिलाडी १३’ र कंगना रनौतको रियालिटी शो ‘लकअप’ मा सहभागी थिइन् ।

कारबाही गर्न माग

पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको झूटो समाचार फैलाएर सचेतनाको नाम दिएकी पाण्डेविरुद्ध आवाज उठ्न थालेको छ । भारतीय फिल्मकर्मीले उनीविरुद्ध कार्वाही हुनुपर्ने माग राखेका छन् । भारतीय फिल्म तथा टिभी निर्देशक संघका अध्यक्ष अशोक पण्डितले अभिनेत्रीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

भिडियो सन्देशमा पण्डितले भनेका छन्, ‘एउटी अभिनेत्रीले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गएको झूटो समाचार दिनु निकै दुःखद र स्तब्ध बनाएको छ । उनले सबैको भावनासँग खेलेकी छन् । उनले पाठेघरको मुखको क्यान्सरजस्ता रोगबाट पीडित सबैको खिल्ली उडाएकी छन् । यो एक गम्भीर रोग हो । उनीहरूले यस रोगविरुद्ध एकजुट भएर काम गरिरहेका भारत सरकार, डाक्टर र नर्सहरूको कडा परिश्रम र कामको खिल्ली उडाएकी छन् ।’

पूनमको उक्त कदमलाई भारतीय सेलिब्रेटीहरुले विरोध गरेका छन् । अखिल भारतीय सिने वर्कर्स एसोसिएसनले पनि यो नक्कली पीआर स्टन्टप्रति असन्तुष्टि व्यक्त गरेको छ ।

संस्थाको तर्फबाट भनिएको छ, ‘मोडल तथा अभिनेत्री पुनम पाण्डेको नक्कली पीआर स्टन्ट निकै कमजोर छ । तपाईको प्रचारका लागि पाठेघरको मुखको क्यान्सर जस्ता रोगको कारण प्रयोग गर्नु मान्य छैन । यो खबरपछि अब भारतीय फिल्म उद्योगमा कुनै पनि व्यक्तिको मृत्युको खबर पत्याउन मानिसहरु हिचकिचाउन सक्छन् । फिल्म उद्योगमा कोही पनि पीआरको लागि यो स्तरमा झुकेका छैननु ।’

एसोसिएसनले गरेको पोस्टमा लेखिएको छ, ‘पुनम पाण्डेका म्यानेजरले झुटो समाचारको पुष्टि गरे, त्यसैले पुनम पाण्डेसँगै उनको म्यानेजरमाथि पनि एफआइआर दर्ता गर्नुपर्छ ताकि आफ्नै मृत्युको कथा कसैले फैलाउन नपरोस् ।’

‘द कश्मीर फाइल्स’का निर्देशक विवेक अग्निहोत्रीले पनि पुनमको चालको विरोध गरेका छन् । उनले एक ट्वीट सेयर गर्दै लेखेका छन्, ‘सोशल मिडियाको बढ्दो चुनौतीलाई हेरेर यहाँ पनि केही नियमहरू हुनुपर्छ भन्ने मलाई लाग्छ । विशेष गरी समाचार निर्माता र आफूलाई प्रभावकारी भनाउनेका लागि । यो सनसनीखेज र नौटंकीलाई सामान्यीकरण बनाउनु खतरनाक छ । मृत्युको झुटो समाचार त सुरुवात मात्र हो । अब के हुन्छ हेरौं ।’

प्रतिक्रिया