बाँदर धपाउन ‘रुख काट्ने अभियान’, वडाको सूचना सामाजिक सञ्जालमा भाइरल
अखबार टुडे
प्रकाशित:
२०८०, १६ माघ

पोखरा । पोखरा महानगरको वडा नं. १९ क्षेत्रमा बाँदरले दुःख दिएको भन्दै ‘मेरो रुख म काट्छु’ अभियान चलाउने भएको छ । वडाले बाँदर धपाउन रुख काट्ने अभियान चलाएपछि अहिले वडाको उक्त सूचना सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सोमबार एक सूचना जारी गरी उक्त अभियानमा सरिक हुन निर्देशन दिएका छन् । सूचनामा साविक लामाचौर पुरञ्चौर क्षेत्र बाँदरबाट अतिप्रभावित क्षेत्र भएको र प्रदेश सरकारले पनि चालु आर्थिक वर्षको नीति कार्यक्रममै बाँदर नियन्त्रण गर्ने उल्लेख गरेको हवाला दिंदै १० दिनभित्र सबै रुख काट्न निर्देशन जारी गरेका छन् ।

सूचनामा भनिएको छ, ‘आजको १० दिनभित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन गरी आआफ्नो वरपर रहेका सम्पूर्ण रुखहरु कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पु¥याउनका साथै आआफ्नो क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पु¥याउन वडा कार्यालयको तर्फबाट सम्पूर्ण वडावासीको लागि सूचना प्रकाशित गरिन्छ ।’

वडाध्यक्ष पाण्डेले तत्कालीन लामाचौर–पुरञ्चौरको घार्मीडाँडा क्षेत्रमा वनजंगल बढी भएको र मानव बस्ती कम हुँदा बाँदरले दुःख दिएको बताए । उनले भने, ‘रुखैरुख बढी हुँदा बस्ती कमजोर भयो । बाँदर धेरै भएर अहिले घरमै आउन थाले । मान्छेले धपाएर पनि हटाउन नसकिने भयो ।’

वडाध्यक्ष पाण्डेले उक्त अभियानअन्तर्गत आफ्नो पुर्जामा भएको रुखमात्रै काट्न भनिएको प्रष्टीकरण दिएका छन् । यद्यपि, उनले जारी गरेको सूचनामा उक्त कुरा उल्लेख गरिएको छैन । ‘सबै भएभरको काट्ने भनेको होइन । आफ्नो पुर्जामा भएको काट्न वन कार्यालयले पनि केही गर्दैन ।’

हाललाई आफ्नो पुर्जामा भएको उत्तिस, चिलाउनेलगायतको रुख काट्न भनिएको वडाध्यक्ष पाण्डेले बताए । तत्कालीन समयमा वनविनास रोक्न उत्तिस, चिलाउनेलगायतको रुख रोप्दा काफललगायतको फलफुलको बिरुवा मासिएको उनको दाबी छ ।

वडाध्यक्ष पाण्डेले कटान गरिएका रुख बिक्रिवितरण गर्न भने नपाइने बताएका छन् । उनले वडाले चलाएको अभियानअन्तर्गत कटान भएका रुख व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्ने तर बिक्रिवितरण भएको पाइएमा वन कार्यालयले कारबाही गर्न सक्ने बताए ।

प्रतिक्रिया