नेपाल-चीन सम्बन्धमा केही देशहरु भाँजो हाल्न चाहिरहेका छन् : चिनियाँ उपमन्त्री
अखबार टुडे
प्रकाशित:
२०८०, १४ माघ

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले चीन-नेपाल सम्बन्द्ध अझ बलियो बनाउनुपर्ने बताएकी छन् ।

काठमाडौंमा आइतबार (आज) राजनीतिक दलका नेताहरूसँग अन्तरक्रिया गर्दै उपमन्त्री हाइयानले कतिपय देशले नेपाल र चीनको सम्बन्ध राम्रो देख्न नचाहेको बताउँदै चीन–नेपाल सम्बन्ध अझ राम्रो र बलियो बनाउनुपर्ने बताएकी हुन् ।

उपमन्त्री हाइयानले भनिन्, ‘हामी राजनीतिक दलहरूबीच राम्रो सम्बन्ध बनाउन चाहन्छौं । किनभने केही देशहरु हाम्रो सम्बन्धमा भाँजो हाल्न चाहिरहेका छन् ।’

उनले अहिले गुटहरू बनाउने, क्षेत्रीय द्वन्द्व बढाउने र गलत अफवाह फैलाउने काम भएको बताउँदै त्यसलाई चिर्दै चीन र नेपालबीचको मित्रता अझ बलियो बनाउन जरुरी रहेको बताइन् । वर्तमान समयमा धेरै किसिमका सहमति र समझदारीले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको उनको भनाइ छ ।

नेपालमा चिनियाँ पर्यटकहरू आइराखेको बताउँदै उनले नेपालमा थप पूर्वाधार विकास आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘नीतिगत सुधार हुँदा धेरैभन्दा धेरै लगानी भित्र्याउन सकिन्छ ।’ उनले नेपालमा परियोजना समयमा सम्पन्न गर्न ढिलाइ हुनुमा धेरै समस्याहरु रहेको बताउँदै तिनलाई आपसी समझदारीमा सल्टाउनु पर्ने बताइन् ।

प्रतिक्रिया