
काठमाडौं । १९ सिटमा लागि राष्ट्रियसभा सदस्यको मतदानको समय सकिएको छ । आज बिहीबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको थियो । सो अवधिमा प्रदेशसभा सदस्य र स्थानीय सरकार प्रमुख÷उपप्रमुखहरूले मतदान गरेका छन् ।
तर, स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका जनप्रतिनिधिहरू बालेन शाह, हर्क साम्पाङ र गोपाल हमालले भने मतदान गरेन्न । कार्यव्यस्तताले भनेपनि उनीहरुले अप्रत्यक्षरुपमा राष्ट्रियसभा निर्वाचन बहिस्कार गरे ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन बागमतीका मतदाता हुन् । उपमेयर सुनिता डंगोल मतदान गर्न हेटौंडा गएपनि मेयर बालेन शाह गएनन् । उनी कार्यव्यस्तताका कारण मतदान गर्न नगएको बालेनको सचिवालयले जानकारी दिएको छ ।

यस्तै, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि मतदान गरेनन् । यस्तै, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल पनि कार्यव्यस्तताका कारण भन्दै मतदानमा सहभागी नभएको उनको सचिवालयले जनाएको छ ।
आज सम्पन्न निर्वाचनको परिणाम आजै सार्वजनिक गर्ने निर्वाचनको आयोगको तयारी छ ।
फागुन २१ गते २० जना राष्ट्रियसभा सदस्यको कार्यकाल सकिँदै छ । त्यसका लागि आज मतदान गरिएको हो । एक जना भने राष्ट्रपतिले मनोनयन गर्ने प्रावधान छ ।
राष्ट्रियसभाबाट कोको हुँदैछन् विदा ?
कुल ५९ सदस्यीय राष्ट्रियसभामा गोला प्रथाबाट एक तिहाइ सदस्यको कार्यकाल ६ वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको दुई वर्षको कार्यकाल निर्धारण गरिएको थियो । त्यही गोलाप्रथाबाट ६ वर्षको कार्यकाल पूरा गरेर आगामी फागुन २० गते एक तिहाइ सदस्यहरु बिदा हुन लागेकाले रिक्त स्थान पूर्ति गर्न आज निर्वाचन भएको हो ।
६ वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितका सदस्यहरु बिदा हुँदैछन् । तिमिल्सिना सहित नेकपा एमालेका ९ सदस्य राष्ट्रिय सभाबाट बिदा हुनेछन् । एमालेकै दीपा गुरुङ (गण्डकी), इन्दु कडरिया (सुदूरपश्चिम), खिमलाल भट्टराई (लुम्बिनी), दील कुमारी रावल थापा (बागमती), रामचन्द्र राई (बागमती), नरपती लुवार (कर्णाली), भैरव सुन्दर श्रेष्ठ (कर्णाली) र राष्ट्रपतिबाट मनोनित विमला राई पौड्याल पनि राष्ट्रिय सभाबाट बिदा हुँदैछन् ।
यसैगरी नेपाली कांग्रेसबाट अनिता देवकोटा (लुम्बिनी), जितेन्द्रनारायण देव (मधेश), प्रकाश पन्थ (गण्डकी) र रमेशजंग रायमाझी (कोशी)को कार्यकाल पनि फागुन २० गते सकिँदै छ ।
नेकपा माओवादी केन्द्रका महेश कुमार महरा (सुदूरपश्चिम), हरिराम चौधरी (सुदूरपश्चिम) र विना पोखरेल (कोशी) तथा एकीकृत समाजवादीबाट नन्दा चपाईं (कर्णाली), सिंगबहादुर विश्वकर्मा (बागमती)को कार्यकाल सकिँदै छ ।
यसैगरी जसपाकी प्रमिला कुमारी (मधेश प्रदेश) को कार्यकाल पनि सकिँदै छ । बागमती प्रदेशबाट स्वतन्त्रबाट निर्वाचित खिमलाल देवकोटा पनि आगामी फागुन २० मै बिदा हुँदैछन् ।
राष्ट्रिय सभामा पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै निर्वाचन गर्ने कानुनी व्यवस्था छ । यसरी राष्ट्रियसभा कहिल्यै रिक्त नहुने भएकाले यसलाई स्थायी सदन पनि भनिन्छ ।
