चालु आर्थिक वर्षको ६ महिनामा ७ खर्ब व्यापारघाटा
अखबार टुडे
प्रकाशित:
२०८०, ८ माघ

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा मुलुकले करिब सात खर्ब बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा रू छ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार बराबरको व्यापार घाटा देखिएको हो ।

विभागको तथ्याङ्कअनुसार छ महिनामा नेपालले कूल रू आठ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख ४९ हजार बराबरको वैदेशिक व्यापार गरेको छ । जसमध्ये रू सात खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजार बराबरको आयात भएको छ भने रू ७४ अर्ब ९६ करोड ८० लाख ७९ हजार बराबरको मात्रै निर्यात भएको छ ।

विभागका अनुसार गत आर्थिक वर्षको पछिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात तीन दशमलव ०९ र निर्यात सात दशमलव २३ प्रतिशतले घटेको छ । समग्रमा वैदेशिक व्यापार तीन दशमलव ४७ प्रतिशतले घटेको छ भने व्यापार घाटा दुई दशमलव ६२ प्रतिशतले घटेको छ ।

नेपालले सबैभन्दा धेरै भारतसँग रू चार खर्ब २४ अर्ब ४४ करोड ८९ लाख २८ हजार बराबरको व्यापार घाटा व्यहारेको छ । छ महिना अवधिमा भारतबाट रू चार खर्ब ७४ अर्ब ८९ करोड ४१ लाख बराबरको आयात गर्दा भारतमा भएको निर्यात भने रू ५० अर्ब ४४ करोड २२ लाख बराबर मात्रै छ ।

नेपालले उच्च व्यापार घाटा व्यहोरेका मुलुकमा तीन, संयुक्त अरब इमिरेट्स, युक्रेन र मलेसिया क्रमशः दोस्रो, तेस्रो, चौंथो र पाँचौ नम्बरमा छन् ।


पुस मसान्तसम्ममा चीनसँग रू एक खर्ब ४५ अर्ब ७९ करोड एक लाख १५ हजार, संयुक्त अरब इमिरेट्ससँग रू १२ अर्ब २६ करोड, युक्रेनसँग रू नौ अर्ब ९६ करोड र मलेसियासँग रू आठ अर्ब ६० करोड बराबर व्यापार घाटा छ । नेपालको वैदेशिक व्यापारमा नाफा कमाएका मुलुकको सूचीमा संयुक्त राज्य अमेरिका पहिलो स्थानमा छ ।

प्रतिक्रिया