बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश
अखबार टुडे
प्रकाशित:
२०८०, २६ पुष

सर्लाही । जिल्ला अदालत सर्लाहीले बाल यौन शोषणको मुद्दामा ‘तपस्वी’ रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । उनीविरुद्ध जिल्ला अदालतमा ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’को आरोपमा मुद्दा परेको थियो ।

जिल्ला प्रहरी कार्यालयले बिहीबार सर्लाही जिल्ला अदालतमा हाजिर गराएकोमा अदालतले बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

बिहीबार बसेको न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । अदालतको आदेशपछि बम्जनलाई जिल्ला कारागार महोत्तरी लगिएको छ ।
सर्लाहीको पत्थरकोटस्थित बम्जनको आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै ‘तपस्वी’ बताउने बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा परेको थियो ।

बम्जनको मुद्धामा बिहीबार लगभग ४ घण्टा बहस चलेको थियो । वादीका तर्फबाट जिल्ला सरकारी वकिल कार्यलयका प्रमुख कैलाश दाहाल र अधिवक्ता अन्नत न्यौपाने तथा प्रतिवादीका तर्फबाट अधिवक्ताहरू डा. कुन्साङ लामा, अजय तामाङ, दिलिप कुमार झा, महनिधि सेडाई र अमृत कुमार लामाले बहस गरेका थिए ।

बहस पछि आरोपी बम्जनलाई घटनामा संलग्न छैन भन्ने पुष्टि हुन सक्ने आधार नभएको भन्दै अदालतले पुर्पक्षमा राख्ने दिएको हो ।

बम्जनले आफ्नै आश्रममा बस्ने आनीलाई बलात्कार गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो । बलात्कृत भएपछि २०७५ मा आनीले आश्रम छाडेर बम्जन विरुद्ध प्रहरीमा उजुरी गरेकी हुन् । २०७६ माघमा सर्लाही प्रहरीले आनीलाई बाल यौन दुर्व्यवहार गरेको मुद्दा दर्ता गरेर बम्जनबारे अनुसन्धान थालेको थियो । उनी पुस २४ गते मंगलबार साँझ काठमाडौँको हात्तीगौंडाबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया