ईपीएस प्रकरण : सरकार र मृतकका परिवारबीच चारबुँदे सहमति
अखबार टुडे
प्रकाशित:
२०८०, १६ पुष

काठमाडौं । इपीएस प्रकरणमा यही गएको पुस १३ गते प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकका परिवार र गृह मन्त्रालयबीच सहमति भएको छ । प्रहरीको गोली लागि अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो ।

गृह मन्त्रालय र मृतकका परिवारबीच सोमबार चा बुँदे सहमति भएको हो । सहमतिअनुसार सरकारले मृतकका परिवारको एकजना सदस्यलाई यथाशीघ्र रोजगार उपलब्ध गराउने, थप राहत उपलब्ध गराउन सरकारले सहजीकरण गर्ने, मृतक शाह र राउतलाई सहिद घोषणाका लागि पहल गर्ने र आफन्तले उनीहरूको शव बुझिलिने छन् ।

मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा लैजान गृह मन्त्रालयले प्रबन्ध मिलाउने पनि सहमति भएको छ । सहमतिमा नेपाल सरकारको तर्फबाट गृह मन्त्रालयको उपसचिव उमाकान्त अधिकारी र मृतकका तर्फबाट वीरेन्द्र शाहका बाबु टेकबहादुर र सुजन राउतको तर्फबाट उनका मामा टेकबहादुर कटुवालले हस्ताक्षर गरेका छन् ।

गृह मन्त्रालय र मृतकका आफन्तबीच सहमति भएका बेला अछामका प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवर, पुष्पबहादुर शाह र दैलेखका प्रतिनिधिसभा सदस्य अमनबहादुर थापा र दिक्पालकुमार शाहीको उपस्थिति थियो ।

गत साता ललितपुरको बालकुमारीमा ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा शाह र राउतको मृत्यु भएको थियो । सरकारले यसअघि मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया