एनएसएल विजेताले ७० लाख पुरस्कार पाउने
अखबार टुडे
प्रकाशित:
२०८०, ११ पुष

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल उपाधि विजेताले ७० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ । आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेज्मेन्ट प्रालिले बुधबार पहिलो संस्करणको तुलनामा पुरस्कार रकममा शतप्रतिशत वृद्धि गरेको घोषणा गरेको हो ।

पहिलो संस्करणमा विजेता काठमाडौंले ३५ लाख रुपैयाँ पाएको थियो । तर, यसपटकको विजेताले ७० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । यस्तै उपविजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ ।

यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद २ लाख रुपैयाँ पाउने छन् भने प्रतियोगिताको शीर्ष गोलकर्ता, प्रतियोगिताको उत्कृष्ट गोलकिपर र प्रतियोगिताको उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ नगद पुरस्कार पाउने बताइएको छ ।

धनगढी एफसी एनएसएलको फाइनलमा पुगिसकेको छ । बिहीबार हुने पोखरा थन्डर्स र ललितपुर सिटीबीचको खेलको विजेताका लागि फाइनलमा पुग्ने छ ।

प्रतिक्रिया