
विराटनगर । विराटनगरस्थित मोरङ जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एकजना कैदीको मृत्यु भएको छ । लेनदेन ठगी मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर–१० का ४८ वर्षीय चण्डेश्वर सहनीको सोमबार आज बिहान कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
कारागार प्रशासनका अनुसार उनलाई पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना गराएको थियो । मोरङ कारागारका निमित्त जेलर कृष्णहरि न्यौपानेका अनुसार उपचारको क्रममा उनको मृत्यु भएको हस्पिटलले जनाएको छ ।
मृतकका आफन्तहरूले भने समयमै जानकारी नदिएको र उपचारमा लापरबाही भएको भन्दै अस्पताल परिसरमा विरोध जनाउँदै प्रदर्शन गरिरहेका छन् ।
सहनीको सोमबार (आज) कैद भुक्तान सकिने दिन थियो । कैद भुक्तान सकिने दिन नै उनको मृत्यु भएको छ । सहनी २०७९ माघ १७ गतेदेखि कारागारमा कैद सजाय भोगिरहेका थिए । उनलाई लेनदेन मुद्दामा मोरङ अदालतले २०७८ मङ्सिर २० गते १० महिना २२ दिन कैद सजायको फैसला सुनाएको थियो । अदालतले फैसला गरेपछि उनी फरार थिए । २०७९ माघ १७ गते पक्राउ परेपछि उनलाई अदालतमा उपस्थिति गराएर कारागार चलान गरेको थियो ।
मोरङ कारागारमा केही दिनअघि पनि एकजना कैदी बन्दीको मृत्यु भएको थियो । मोरङको लेटाङ नगरपालिका–४ घर भएका ३७ वर्षीय केशरबहादुर भुजेलको शंकास्पद मृत्यु भएको भन्दै परिवारले छानबिनको माग राखेका थिए । मोरङ कारागारमा पुरुष ९४८, महिला ८९ र नाबालक ७ जना गरी १ हजार ४४ जना कैदीबन्दी रहेका छन् ।
