लुम्बिनी प्रदेश : यातायातमन्त्री बन्दै रोज राणा
अखबार टुडे
प्रकाशित:
२०८०, ७ पुष

रूपन्देही । लुम्बिनी प्रदेश सरकारमा दुईजना मन्त्री थपिएका छन् । थपिएका मन्त्रीमा कांग्रेसबाट सरोज थापा (रोज राणा) र माओवादीबाट कृष्णा केसी रहेका छन् ।

प्रदेश सरकारले उनीहरुलाई थपेर आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको हो । प्रदेश प्रमुखका प्रेस सल्लाहकार गुनाराम घिमिरेका अनुसार कांग्रेसबाट प्युठानका सांसद सरोज थापा (रोज राणा) र माओवादीबाट बाँकेकी सांसद कृष्णा केसीलाई मन्त्री बनाउने टुंगो लागेर सरकारबाट पत्र आएको र आइतबार शपथ हुने भएको छ ।

सरकारका प्रवक्ता सन्तोष पाण्डेका अनुसार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार कांग्रेसबाट सरोज थापालाई मन्त्री बनाउने टुंगो लगाएका हुन् । थापा र केसीलाई आइतबार बिहान शपथग्रहण गराइने कार्यक्रम तय भएको उनले बताए ।
केसीलाई खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय र थापालाई उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । रोज राणाको रुपमा चर्चित सरोज थापा फिल्मकर्मी हुन् । उनी फिल्म क्षेत्रमा रोज राणाको रुपमा चर्चित छन् ।

यसअघि शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भनिएपनि कांग्रेसभित्र कुरा नमिलेपछि रोकिएको थियो । मुख्यमन्त्री चौधरीले शनिबार थापाको नामअघि सारेका हुन् । रोज राणा कांग्रेस संस्थापन पक्षका सांसद हुन् ।

कांग्रेसमा संस्थापनइतर पक्षले पाल्पाका वीरबहादुर राना र पश्चिम नवलपरासीका विश्वप्रम पाठकलाई मन्त्री बनाउन दबाब दिएपछि शुक्रबारको मन्त्रिपरिषद् विस्तार रोकिएको थियो । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार लुम्बिनी कांग्रेस सभापति अमरसिंह पुनलाई मन्त्रीको नाम माग्दा दिन नसकेपछि थापालाई मन्त्री बनाउने निर्णय गरिएको हो ।

माओवादीले यसअघिको सहमतिअनुसार दुई मन्त्रालयका लागि केसी र रोल्पाका दीपेन्द्र पुनको नाम निर्णयसहित सिफारिस गरेको थियो । तर, कांग्रेस सभापति पुनले गठबन्धनबाट विद्रोह गरी निर्वाचित भएकालाई गठबन्धनबाटै मन्त्री बनाउन नहुने अडान लिएपछि माओवादीले पहिलो चरणमा केसीलाई पठाउने निर्णय गरेको थियो ।

कांग्रेसबाट २७ सदस्य रहेको प्रदेशसभामा आफ्नो समूहका ९ जना रहेको इतर समूहको दावी छ । तर, इतर समूहबाट पनि शेखर समूहले वीरबहादुर राना र गगन समूहले विश्वप्रेम पाठकलाई मन्त्रीको दवाव दिएकाले मुख्यमन्त्रीले सरोज थापा (रोज राणा)लाई अगाडि सार्न सहज भएको बताइएको छ ।

प्रतिक्रिया