हङकङमा एकल साँझमा प्रस्तुत भए सुसन साम्सोहाङ (फोटो फिचरसहित)
अखबार टुडे
प्रकाशित:
२०८०, ३ पुष

काठमाडौं । गायक सुसन साम्सोहाङ लिम्बू हङकङमा सांगीतिक एकल साँझमा प्रस्तुत भएका छन् । केही समयअघि हङकङ पुगेका सुसन यही गएको डिसेम्बर १६ तारिखमा दिन हङकङको जोर्डनस्थित याक एण्ड यति रेष्टुरेण्टमा एकल साँझमा प्रस्तुत भएका हुन् ।

साम्सोहाङ परिवार हङकङ र याक एण्ड यति रेष्टुरेण्टकै आयोजक रहेको ‘सुसन साम्सोहाङ सांगीतिक साँझ’मा गायक सुसनले आफ्नो लोकप्रिय गीतसहित करिब दर्जन गीत प्रस्तुत गरेका थिए । उनलाई हङकङमै बस्दै आएका कलाकारले साथ दिएका थिए ।

कार्यक्रममा आफ्नो चर्चित लिम्बू भाषाको गीत ‘सरलै सर’ गाउँदा दर्शकले उनलाई भरपूर्ण साथ दिए । सोही क्रममा सुसनले ‘यो मिठो जीन्दगी’, ‘आँखैमा राखुँकि, ‘जालै काट्यो’, ‘धरान हुँदै धनकुटा’ र ‘हङकङ बजार’ जस्ता गीतहरु प्रस्तुत गरेका थिए । सुसनको प्रस्तुतीमा नेपाली मात्र नभएर चिनियाँ युवा युवतीहरुले समेत मज्जा लिएका थिए ।

हङकङमा पहिलोपटक एकल साँझमा प्रस्तुत भएका गायक सुसनले आफूलाई साथ दिने कलाकारलाई आफ्नै तर्फबाट आर्थिक सहयोग प्रदान गरेको नयाँ संस्कारको समेत थालनी गरेको बताए । हालसम्म जति पनि नेपाली कलाकारले हङकङमा प्रस्तुती दिए, उनीहरुले साथ दिने कलाकारलाई बेवास्ता गर्थे । यद्दपि, हङकङ पुग्ने जोकोही कलाकारका लागि स्थानीय कलाकरको साथ र सपोर्ट अपरिहार्य जस्तै छ ।

गायक सुसनले भने, ‘मलाई यहाँ साथ दिने डान्सर र गायक/गायिकालाई आफ्नै तवरबाट पारिश्रमिक दिएको छु । अहिलेसम्म कुनै कलाकारले आफूलाई साथ दिने कलाकारलाई पारिश्रमिक दिएको पाइएको थिएन । तर, मैले नयाँ थालनी गरेको छु ।’ कसैले नगरेको आफ्नो नयाँ थालनीबाट हङकङमा रहँदै आएको कलाकारहरु समेत खुसी भएको सुसनले सुनाए ।

एकल साँझमा सुसनलाई हङकङमै रहँदै आएका राजु आङ्देम्बे, कमानध्वज लावती, पवित्रा साम्पाङ राई, साक्थिम योङ्या, दिपेन इजमलगायतका गायक/गायिकाले साथ दिएका थिए । यस्तै, कार्यक्रममा अस्मिता राई र स्नेहा गुरुङले नृत्य गरेर दर्शकलाई थप मनोरञ्जन प्रदान गरेका थिए ।

प्रतिक्रिया