काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल छानबिन समितिको प्रतिवेदन नआउन्जेल सेयर कारोबारमा कुनै स्वीकृति र सहमति नदिने सरकारलाई निर्देशन दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सञ्चामन्त्री रेखा शर्मासहितलाई बोलाएर मंगलबार छलफल गरेपछि समितिले यस्तो निर्देशन दिएको हो ।
समितिले निर्देशनमा भनेको छन्, ‘एनसेल छानबिन समितिको प्रतिवेदन नआउन्जेलसम्म यसको शेयर कारोबारमा कुनै पनि स्वीकृति तथा सहमति नदिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने ।’
समितिले सेयर खरिदबिक्री सम्बन्धी अध्ययन तथा छानबिन समिति–२०८० को प्रतिवेदनलाई समेत आधार लिई प्रचलित कानुनबमोजिम राज्यलाई तिर्नुपर्ने वा बुझाउनुपर्ने कर÷गैरकर रकम एनसेलबाट असूल उपर गर्न पनि पनि समितिले निर्देशन दिएको छ ।
एनसेल जस्ता ठूला कम्पनी खरिदविक्री गर्दा खरिद कर्ताको क्षमता, कम्पनी चलाएको अनुभव भए/नभएको जाँच गरी कार्यान्वयन गर्न समेत समितिले निर्देश गरेको छ ।