पुस १२ गतेदेखि मण्डलमा ‘पगला घोडा’, देखिँदैछन् यी कलाकार
अखबार टुडे
प्रकाशित:
२०८०, २ पुष

काठमाडौं । थिएटर आकारको प्रस्तुतिमा मण्डला नाटक घरमा ‘पगला घोडा’ मञ्चन हुने भएको छ । नाटकको जानकारी दिने हेतुले निर्माण टिमले थिम पोस्टर सार्वजनिक गरेको छ । नाटक पुस १२ गतेदेखि माघ ६ गतेसम्म सोमबारबाहेक हरेक दिन मञ्चन हुनेछ साथै शनिबार भने दुई सो हुने बताइएको छ ।

भारतीय सुप्रसिद्ध नाटककार बादल सरकारको कथा रहेको यस नाटक नेपाली भाषामा अनुवाद गर्दै मञ्चन गर्न लागिएको हो । बादल सरकार १९७० को दशकमा प्रगतिशील, स्थापना विरोधी नाटकहरूका लागि परिचित थिए ।

नाटकलाई निर्देशक घनश्याम श्रेष्ठले निर्देशन गर्दैछन् । पछिल्लो समय विभिन्न कारणले युवा वर्गमा आत्महत्या गर्नेको संख्यामा वृद्धि भइरहेको छ । यस संवेदनशील विषयवस्तुलाई दर्शकमाझ कलामार्फत सम्बोधन गर्न र यस अवस्थाको बारेमा मानिसलाई सचेत गराउन यस नाटकको परिकल्पना गरिएको उनी बत्ताउँछन् । अहिले समाजमा घटेको घटनालाई दर्शकसामु प्रत्यक्षरुपमा देखाउनलाई ‘पगला घोडा’ एक उत्कृष्ट कथा रहेको उनको भनाइ छ ।

नाटकमा रंगमञ्चका अब्बल कलाकारहरूको अभिनय रहेको छ । कलाकारहरू प्रमोद अग्रहरी, मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारी लगायत मञ्चमा देखिने छन् । नाटकमा सुष्मा कोइराला सहायक निर्देशक र शंकर भण्डारी स्टेज म्यानेजरको रुपमा रहेका छन् ।

यस नाटकको नेपाली अनुवाद शिव खाँड ठकुरीले गरेका हुन् । उनलाई अनुवादमा आलेख सुपरिवेक्षकको रुपमा कलाकार तथा निर्देशक आशान्त शर्माले सहयोग गरेका छन् ।

२०६८ सालमा स्थापना भएको थिएटर आकारले थुप्रै नाटकहरू मञ्चन गरिसकेको छ । ‘अनुहार हराएको’, ‘बिम्बाको सपना’, ‘यो कुनै बास हो एक’, ‘बेड नम्बर ९९’, ‘तीन बहिनी’, सोलो म्युजिकल प्रस्तुति (भरत नाट्यम्) लगायत रहेका छन् ।

प्रतिक्रिया