काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस पुगेको छ । यो यस वर्षको अहिलेसम्मकै कम तापक्रम हो । आगामी दिनमा न्यूतम तापक्रम अझै घट्ने र जाडो बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद सरोज पुडासैनीका अनुसार आज बुधबार बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन भएको छ । उनका अनुसार केही दिनयता न्यूनतम तापक्रम घट्दै गइरहेको छ भने तापक्रम अझै घट्ने र जाडो बढ्ने सम्भावना छ ।
यस्तै, देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।
तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी पहाडी भूभागमा आंशिक बदली रही तराई भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।