‘के यो माया हो’ यस्तो छ भिडियो
अखबार टुडे
प्रकाशित:
२०८०, १७ मंसिर

काठमाडौं । गायक आयुष्मान बिष्टले आफ्नो नयाँ सांगीतिक सौगात ‘के यो माया हो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । रोमाण्टिक भर्सनको यस गीतमा सिद्धान्त खड्काको शब्द र संगीत रहेको छ । युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा स्वयम् गायक बिष्ट र शिल्पा थापाको अभिनय रहेको छ । श्रीजन रावलले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् ।

विकाश दाहालको भिडियोमा सम्पादन रहेको छ । पुष्पान्जली थापा बिष्ट निर्मात्री रहेको भिडियोलाई अनुप चापागाईको निर्देशनमा तयार पारिएको हो ।

वरिष्ठ गायक स्वर्गीय जगत मर्दन थापाका नाति गायक बिष्टले ‘मेरो कलिलो मन’ गीतबाट आफ्नो संगीत यात्रा थालेका थिए । वरिष्ठ गायक जगत मर्दन थापाको ‘माया लुकाइ लुक्दैन’ एल्बमको बिमोचन कार्यक्रममा गायक तथा गितारिस्टको रुपमा प्रस्तुत भएका उनले गोपाल योन्जनको ७४औँ जन्मजयन्तीको अवसरमा ०७३ सालमा ‘बनेको छ पहराले यो छाती मेरो’ बोलको गीतमा धमाकेदार प्रस्तुति दिएका थिए ।

२०७४ सालको कार्यक्रममा चेतन कार्कीको ‘कान्छी हे कान्छी’ गीतमा वान्स मोर प्रस्तुति दिएर उनले दर्शक स्रोताको मन जितेका थिए । यसअघि गायक बिष्टको ‘पोखरेली नानी’ दर्शक स्रोतामाझ लोकप्रिय छ ।

प्रतिक्रिया