काठमाडौं । एनसेल कम्पनीमा बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेड भित्रिएको छ । एनसेलबाट आजियाटाले बाहिरिने निर्णय गरेसँगै बेलायतको कम्पनी स्पेक्ट्रलाइट भित्रिएको हो ।
आजियाटासँग स्पेक्ट्रलाइटले ८० प्रतिशत सेयर किन्ने सम्झौता भएको एनसेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअगाडि २० प्रतिशत सेयर थियो । अब एनसेलको शतप्रतिशत सेयर स्पेक्ट्रलाइटको रहने छ ।
स्पेक्ट्रलाइट सिंगापुरमा बस्दै आएका नेपाली सतिशलाल आचार्यको स्पेक्ट्रलाइट कम्पनी हो । ‘एनसेलको सेयर प्राप्तिको लागि सम्झौता भएको घोषणा गर्न पाउँदा स्पेक्ट्रलाइट खुसी छ,’ आचार्यले भनेका छन्, ‘दूरसञ्चार क्षेत्रमा रहेको मेरो अनुभवलाई आविष्कार, लगानी र नेपाली जनतालाई सेवा प्रदान गर्न एनसेलको व्यवस्थापनसँग काम गर्नेछु ।’
व्यावसायिक चुनौती बढेको भन्दै आजियाटा समूहले एनसेलबाट लगानी झिक्ने घोषणा गरेको थियो। बाहिरिएसँगै आजियाटाले कम्पनी बिक्रीमा राखेको थियो । आजियाटाले सन् २०१६मा स्विडिस कम्पनी टेलिया सोनेरासँग सेयर किनेको थियो। त्यतिबेला एनसेलको भ्यालुएसन एक खर्ब ४० अर्ब रूपैयाँभन्दा बढी थियो ।