सुनको मूल्य अहिलेसम्मकै उच्च : किन बढ्यो भाउ ?
अखबार टुडे
प्रकाशित:
२०८०, १२ मंसिर

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि प्रभाव परेको छ । यससँगै नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार सुनको भाउ तोलाकै १ लाख १७ हजार ७ सय रुपैयाँ पुगेको छ । अहिलेसम्मकै उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । गत कात्तिक १२ गते सुनको भाउ प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँ कायम भएको थियो । त्यसपछि कात्तिकमा लगातारजसो सुनको मूल्यमा गिरावट आएको थियो ।

कात्तिक २७ गते प्रतितोला १ लाख १२ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंसिर लागेसँगै बढ्न थालेको हो । मंसिर १ गते छापावाल सुन प्रतितोला १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि भने सुनको मूल्य भने बढिरहेको छ ।

सोमबार भने छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४ सय र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, प्रतितोला चाँदीको मूल्य १ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया