लगानी सम्मेलन गर्ने सरकारको तयारी
अखबार टुडे
प्रकाशित:
२०८०, १० मंसिर

काठमाडौंँ । सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौंमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिएका हुन् ।

लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति बनेको छ । उक्त निर्देशक समितिको पहिलो बैठक आइतबार बसेको छ । समितिको बैठकपछि अर्थमन्त्री डा.महतले लगानी सम्मेलन आयोजना हुनेबारे जानकारी दिए ।

उनले भने, ‘लगानी सम्मेलनका लागि तयारी थालिएको छ । यो लगानी सम्मेलनमा विदेशी लगानीको मात्र कुरा होइन, नेपाली लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई पनि सँगसँगै लैजाने हो । लगानी सम्मेलनबारे विदेशी राजदूतावासलाई परिचालन गरिनेछ ।’

लगानी सम्मेलन आयोजना गर्नका लागि मुख्यसचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग वाणिज्य तथा आपूर्त मन्त्रालयका सचिवको नेतृत्वमा प्राविधिक समिति छ । तेस्रो लगानी सम्मेलनको सचिवालय लगानी बोर्डको कार्यालयमा रहने जनाइएको छ ।

लगानी सम्मेलनका लागि आवश्यक कानुनी सुधार, प्राविधिक विषय, लगानीकर्तालाई सम्मेलनबारे जानकारी दिने लगायतका काम कार्यान्वयन समिति र प्राविधिक समितिमार्फत गरिने छ । लगानी सम्मेलनका लागि कुन आयोजना ‘सोकेस’मा लैजाने भन्नेबारे तयारी गर्नसमेत अर्थमन्त्री डा.महतले निर्देशन दिएका छन् ।

प्रतिक्रिया