सूर्यविनायक-रत्नपार्क द्रुतबस सेवा तीन-तीन मिनेटमै छुट्छ
अखबार टुडे
प्रकाशित:
२०८०, १० मंसिर

काठमाडौं । भक्तपुर सूर्यविनयकदेखि काठमाडौंको रत्नपार्क चल्ने द्रुतबस सेवा पुनः सुचारु भएको छ । सञ्चालनमा आएको एक महिना नबित्दै बन्द भएको उक्त सेवामा केही फेरबदल गरेर आज (आइतबार)बाट सञ्चालनमा आएको हो ।

नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार पहिले २५ वटा बसबाट सञ्चालन गरिएकामा अहिले थप ११ वटा बस थपिएको छ । कुल ३६ वटा बस सञ्चालनमा आएसँगै अब प्रत्येक तीन–तीन मिनेटमा सूर्यविनायकबाट द्रूत सेवाका बसहरू छुट्ने छ । यसअघि पाँच–पाँच मिनेटको अन्तरमा बस छुट्ने गर्थ्यो ।

यस्तै, बस छुट्ने समय तालिका समेत परिवर्तन गरिएको छ । यसअघि बिहान ९ बजेदेखि ११ बजेसम्म चल्ने गरेकामा अब साढे ८ बजेदेखि साढे १० बजेसम्म सेवा सञ्चालन हुने अध्यक्ष स्वाँरको भनाइ छ । यस्तै, बेलुकी साढे तीन बजेदेखि साढे पाँच बजेसम्म सेवा सञ्चालन गरिने भएको छ ।

धेरै जाम हुने कोटेश्वर, बानेश्वर जस्ता मुख्य जक्सनमा द्रूतबस सेवाका लागि तीस मिटर ठाउँ छुट्याइने अध्यक्ष स्वाँरले बताए । उनले भने, ‘मुख्य जक्सनहरूमा कोन राखेर तीन मिटर जति खालि ठाउँ छुट्याइन्छ । जसले गर्दा जाम हुने समयमा पनि उक्त ठाउँमा अन्य सवारी साधन जान पाउँदैनन् र द्रूत बस त्यहाँ गएर रोकिन पाउँछन् । यसले गर्दा जाम खुल्न साथ द्रूत बस अगाडि जान पाउँछन् ।’

गत असोज ३ गते संविधान दिवसको अवसर पारेर द्रूतबस सञ्चालनमा ल्याइएपछि कार्यान्वयनमा समस्या आएपछि एक महिना नबित्दै सेवा बन्द भएको थियो ।

प्रतिक्रिया