हमास-इजरायलबीच युद्धविराम : ४८ दिनपछि मानिसहरुलाई राहतको सास
अखबार टुडे
प्रकाशित:
२०८०, ९ मंसिर

युद्धविराम भएपछि त्यहाँका मानिसले लामो समयपछि राहतको सास लिएका छन् । उनीहरूले युद्धविरामको खुलेर स्वागत गरेका छन् । अक्टोबर ७ तारिखको बिहानै हमास समूहले इसराइलमाथि जमिन र आकाशबाट आक्रमण गरेको थियो ।

काठमाडौं । प्यालेस्टाइनको अतिवादी हमास समूह र इजराइलबीच युद्धविराम भएको छ । युद्ध सुरु भएको ४८ दिनपछि युद्धविराम भएको हो । एसोसियट प्रेस (एपी)का अनुसार गाजामा स्थानीय समयअनुसार शुक्रबार बिहान ७ बजेदेखि युद्धविराम भएको छ ।

हमासले बन्दीमुक्त गर्ने र इजराइलले गाजामा चारदिन युद्धविराम गर्ने सहमतिलाई इजराइल सरकारले मंगलबार अनुमोदन गरेको थियो । यससँगै इजराइल सरकारले त्यसको तीन दिनपछि शुक्रबार गाजामा युद्धविराम भएको हो ।

हमासले इजरायलबाट बन्धक बनाएर गाजा पु¥याएको इजरायली र अन्य २६ मुलुकका गरी २३९ जनामध्ये पहिलो चरणमा ५० जना बन्दीलाई मुक्त गर्ने सहमति भएको थियो । बदलामा इजराइलले गाजामा आक्रमण नगर्ने र इजराइली जेलमा रहेका १५० जना कैदीलाई रिहा गर्ने सहमति भएको थियो ।

एपीका अनुसार सहमति भएबमोजिम शुक्रबार दिउँसो हमासले १३ जना इजराइली बन्धकलाई मुक्त गरेको छ । इजराइलले पनि ३९ जना प्यालेस्टाइनी कैदीबन्दी रिहा गरेको बताइएको छ । रिहा हुनेमा २४ जना महिला र १५ जना किशोरकिशोरी रहेको एपीले उल्लेख गरेको छ । उनीहरूमध्ये केही इजराइली सैनिकमाथि आक्रमण र हत्याको प्रयास गरेको अभियोगमा सजाय काटिरहेका थिए ।

थाइल्यान्डका प्रधानमन्त्री स्रेथा थाविसिनले १२ जना थाइ नागरिक रिहा भएको बताएका छन् । ‘विदेश मन्त्रालय र सुरक्षा निकायले १२ थाइ बन्धकहरू रिहा भइसकेको पुष्टि गरेका छन् । दूतावासका अधिकारीहरू उहाँहरूलाई लिन जाँदै हुनुहुन्छ’ प्रधानमन्त्री थाविसिनले एक्समा लेखेका छन्, ‘उहाँहरूको परिचय भने खुलिसकेको छैन ।’

इसराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको सचिवालयले पनि हमासले १३ बन्धक रिहा गरेको जनाएको सिएनएनले उल्लेख गरेको छ । रिहा भएका बन्दीहरूलाई रेडक्रसको जिम्मा लगाइएको छ ।

शुक्रबार गजा क्षेत्रमा बन्दुक र हवाइ हमलाका आवाज नसुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । हमासले प्रत्येक दिन कम्तीमा १० जना बन्धकहरू रिहा गर्ने र प्रत्येक रिहाइमा इसराइलले गजामा थप एकदिन युद्धविराम गर्ने सहमति भएको छ ।

इजराइली सरकारले हमासले गाजामा लगेको सबै बन्धकहरूलाई रिहा गर्ने विश्वास व्यक्त गरेको छ । उसले युद्धविरामका लागि पनि बन्धकहरूलाई रिहा गर्ने इसराइली प्रधानमन्त्री नेतन्याहुले बताएका थिए ।

युद्धविराम भएपछि गजामा विभिन्न देशले मानवीय सहायता पठाएको थियो । खाद्यान्न, इन्धन र औषधि बोकेका सैयौं ट्रकहरू गजामा प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ । युद्धविराम भएपछि त्यहाँका मानिसले लामो समयपछि राहतको सास लिएका छन् । उनीहरूले युद्धविरामको खुलेर स्वागत गरेका छन् ।

अक्टोबर ७ तारिखको बिहानै हमास समूहले इसराइलमाथि जमिन र आकाशबाट आक्रमण गरेको थियो । हमासको आक्रमणबाट १० नेपाली विद्यार्थीसहित १ हजार २ सय जनाको मृत्यु भएको थियो । आक्रमणका दिन हमास समूहले त्यहाँबाट इसरायली र अन्य देशका गरी २३९ जनालाई बन्दी बनाएर गजा लगेको थियो । बन्धक बनाइएकामा नेपालका विपिन जोशी पनि छन् ।

त्यसयता इजराइलले गाजामा हमासविरूद्ध लगातार आक्रमण गर्दै आइरहेको थियो । इसराइलको आक्रमणबाट गजामा अहिलेसम्म १३ हजार ३ सयभन्दा बढी प्यालेस्टाइनी नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

प्रतिक्रिया