
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज (शुक्रबार) झापा जाँदैछन् । शनिबार झापामा हुने राजावादीहरुको कार्यक्रममा सहभागी हुन उनी झापा जान लागेका हुन् ।
झापाको बिर्तामोडको पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वीनारायण शाहको शालिक अनावरण कार्यक्रममा सहभागी हुन पूर्वराजा त्यसतर्फ प्रस्थान गर्न लागेको हो । यस कार्यक्रमका क्रममा राजावादीहरुले शक्ति प्रदर्शनसमेत गर्न लागेका छन् । त्यसका लागि राप्रपालगायतका राजावादीहरु जुटेका छन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सोही कार्यक्रमको तयारीका लागि डेढ सातादेखि पूर्वी नेपालमा छन् । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनसार पूर्व क्षेत्रबाट परिवर्तनको सन्देश आउने दाबी गर्दै कार्यक्रमको भव्य तयारी भएको छ । आयोजकले कार्यक्रममा हजारौँ समर्थकको सहभागीताा रहने दाबी गरेको छ ।
शालिक अनावरण भएपनि राप्रपाले कार्यक्रमलाई भव्य बनाउन सबै तयारी गरेको राप्रपाको भनाइ छ । साथै, शनिबार ८ हजार मोटरसाइकल ¥याली र कम्तीमा ३० हजार समर्थकलाई उतार्ने राजावादीको दाबी छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौँमा आन्दोलन चर्काइरहेका बेला उनको गृहजिल्लामा राजावादीको छुट्टै शक्ति प्रदर्शन हुन लागेको हो । प्रसाइँको अभियानलाई समेत राजावादी एवं राप्रपाले समर्थन जनाउँदै आएको छ । बिहीबार काठमाडौंमा आयोजित प्रसाइँको समर्थकको प्रदर्शनमा राप्रपा पनि सहभागी थियो ।
