दुर्गा प्रसाइँले बल्खुमा के भने ?
अखबार टुडे
प्रकाशित:
२०८०, ७ मंसिर

काठमाडौं । आज काठमाडौं उपत्यकाका ट्राफिक अवस्था अस्तव्यस्त थियो । दिनभर काठमाडौंको बल्खु र तीनकुनेमा बेग्लाबेग्दलै प्रदर्शन भएको थियो । तीनकुनेमा एमालेको युवा संघ र बल्खु्मा दुर्गा प्रसाई सकर्थकले प्रदर्शन गरेका थिए ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ ब्यानरसहित भएको बल्खुको प्रदर्शन एकाएक अशान्ति बनेको थियो । मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंको आह्वान भएको उक्त प्रदर्शन शान्तिपूर्ण हुने भनिएपनि बिहीबार दिनभर प्रहरी र प्रदर्शनकारीबिच पटक–पटक झडपको अवस्था सिर्जना भएको थियो ।

राजधानीको विभिन्न स्थानबाट ¥यालीसहित बल्खुमा भेला भएका प्रदर्शनकारीले शान्तिपूर्ण प्रदर्शन गरिरहेपनि प्रसाईं आएर आक्रामक भाषण गरेसँगै माहौल खलबलिन पुगेको थियो । प्रसाइँको भाषणपछि प्रदर्शनकारीहरुले सिंहदरबार घेर्ने भन्दै प्रहरीको घेरा तोडेर कालीमाटीतर्फ अघि बढ्न खोजेपछि झडपको अवस्था निम्तिएको हो ।

दिउँसो १ बजेपछि दलबलसहित बल्खु पुगेका प्रसाईंले सम्बोधनका क्रममा आक्रामक अभिव्यक्ति दिए । प्रदर्शनकारीलाई उत्तेजित बनाउँदै वर्तमान व्यवस्थाको तेजोबोध गर्ने उनले प्रयास गरेका थिए ।

सुरुमै प्रसाइँले देशमा बस्ने वातावरण नभएको भन्दै दसैँको अष्टमीको दिन पनि नेपालीहरू विदेशमा श्रम गर्न जान बाध्य भएको यथार्थ प्रस्तुत गरे । ‘हामीले रुँदै झोला बोकेर दसैको अष्टमीको दिन देश छोड्नु परेको छ’ प्रदर्शनकारीलाई सम्बोधन गर्दै प्रसाइँले भने, ‘म यसको अन्त्य गर्न चाहन्छु । म त्यसै बोलेको होइन, मभित्र ठुलो पीडा छ ।’

उनले आफू दुर्गा मातालाई साक्षी राखेर आएको भन्दै मर्न तयार रहेको तर नभाग्ने बताए । उनले ‘दुर्गा मातालाई साक्षी राखेर म तपाईँहरुको अगाडि मर्न आएको छु । म मर्न तयार छु । म भाग्न तयार छैन ।’ उनले फेरि पुरानो नेपाल बनाउनु छ भन्दै प्रदर्शकारीलाई उकासेका थिए ।

संघीयता नचाहिने भन्दै उनले आफूहरूले सुरु गरेको आन्दोलन जनव्रिदोह भएको समेत जिकिर गरे । नेपाली नेताहरूको दुबई, सिंगापुर, कम्बोडिया, मंगोलिया, अमेरिका, लण्डनलगायतका देशमा लगानी रहेको दाबी गर्दै उनले भने, ‘हाम्रो देश त्यसै टाट पल्टेको होइन । म प्रचण्डलाई राम्ररी चिन्दछु । तपाईँ सरेन्डर गर्नुस्, जनताकहाँ आउनुस् ।’

प्रसाइँले एमाले अध्यक्ष केपी ओलीको कडा आलोचना गरे । एमालेले युवा संघलाई प्रयोग गरेर आन्दोलनमा आएकाहरूलाई मध्यरातमा बलात्कारको प्रयास गरेको संगीन आरोपसमेत लगाए । ‘यही काण्ड राधिका शाक्यलाई परेको भए के गर्नुहुन्थ्यो हजुरबुबा ?’ भन्दै उनले कटाक्ष गरे ।\

नेपालमा विद्रोहको विरुवा रोपिएको र नेताहरूलाई जहाँ भेट्यो त्यही ठेगान लगाउनेसम्मको अराजक अभिव्यक्ति दिइरहँदा आन्दोलनकारीले चर्को नाराबाजी गर्दै अघि बढ्न थालेपछि माहौल बिग्रिन पुगेका थियो । प्रसाइँले सिंहदरबार र संसद् भवनका साथै पुरै काठमाडौँ कब्जा गर्नेसम्मको अभिव्यक्ति दिएका थिए ।

सिंगो लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि धावा बोलेका प्रसाईं र उनका समर्थकको अभिव्यक्ति र व्यवहार समाजलाई भड्काउने र वितृष्णा फैलाउँदै अराजकतातर्फ धकेल्ने खालको भएको परिवर्तनकारी शक्तिहरूको बुझाइ छ । तर, प्रसाईँले आफू नेतृत्वको आन्दोलन सुरुवातमात्रै भएको भन्दै निरन्तर जारी रहने चेतावनी दिन छाडेनन् ।

प्रतिक्रिया