भोलि अत्यावश्यक परेमात्रै सवारी लिएर निस्कन ट्राफिक प्रहरीको अनुरोध
अखबार टुडे
प्रकाशित:
२०८०, ६ मंसिर

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भोलि (मसिर ७ गते) अत्यावश्यक काम परेमात्रै सवारी साधन लिएर निस्किन आग्रह गरेको छ ।

काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा मंसिर ७ गते प्रदर्शनजस्ता कार्यक्रम हुन लागेको भन्दै ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक काम भए मात्र सवारी साधन प्रयोग गर्न आग्रह गरेको हो ।

भोलि बिहीबार नेकपा एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले काठमाडौंमा प्रदर्शन गर्न लागेका छन् । प्रदर्शनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापनमा असर पर्ने भन्दै उपत्यका ट्राफिक कार्यालय यस्तो सूचना जारी गरेको हो ।

‘काठमाडौं उपत्यकाभर सवारी आवगमनमा असहजता सिर्जना हुन सक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कनु हुन र सडकमा निस्किनभन्दा पहिले १०० वा १०३ मा फोन गर्नु हुन र ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनेर सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन हुन अनुरोध छ’ सूचनामा भनिएको छ ।

त्यस्तै सुरक्षा र ट्राफिक व्यवस्थापनको लागि जुनसुकै ठाउँबाट पनि सवारी साधन डाइभर्ट गर्न सक्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया