पाकिस्तान क्रिकेट बोर्डद्वारा कप्तान परिवर्तन
अखबार टुडे
प्रकाशित:
२०८०, ३० कार्तिक

काठमाडौं । पाकिस्तान क्रिकेट टिमका कप्तान परिवर्तन गरिएको छ । भारतमा जारी एक दिवशीय विश्वकप क्रिकेटमा अन्तिम ४ मा अँटाउन नसकेपछि पाकिस्तानका कप्तान बाबर आजमले राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै पाकिस्तान क्रिकेट बोर्डले टी–२० र टेस्टका लागि छुट्टाछुट्टै कप्तान नियुक्त गरेको हो ।

टी–२० का लागि शाहिन शाह अफ्रिदीलाई र टेस्ट खेलका लागि शान मसुदलाई कप्तानको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार तत्काल एक दिवशीय क्रिकेटका खेल नरहेकाले एक दिवसीय टोलीका लागि भने कप्तान तोकिएको छैन ।

२३ वर्षीय अफ्रिदीले अब अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप क्रिकेटमा पाकिस्तानी टोलीको कप्तानी गर्नेछन् । जुन २०२४ मा विश्वकप क्रिकेट सुरु हुनेछ ।

यसअघि उनले पाकिस्तान सुपर लिगमा भने कलन्दर्सबाट कप्तानी गरिसकेका छन् । पाकिस्तानले विश्वकप अघि टेस्ट खेल्नेछ । अस्ट्रेलियामा पाँचवटा टेस्ट खेल्ने तय भइसकेको छ । जुन खेलमा १० वर्ष पहिले पाकिस्तानी टोलिमा परेका मसुदले टोलिको नेतृत्व गर्नेछन् ।

प्रतिक्रिया