कुरुम्बाङ सङ्जोम्भोले यसरी खेल्यो लाम्लिङ्गेन-लारिङ्गेन
अखबार टुडे
प्रकाशित:
२०८०, २९ कार्तिक

काठमाडौं । विगतमा झैं यसवर्ष पनि याक्थुङ कुरुम्बाङ सङ्जोम्भो उपत्यका समितिले बलिहाङ तङ्नामको अवसरमा लाम्लिङ्गेन–लारिङ्गेक (देउसी–भैलो) कार्यक्रम आयोजना गरेको छ । सङ्जोम्भोले स्थापनाकालदेखि नै कुरुम्बाङ दाजुभाइ तथा चेलीबेटीहरुमा बलिहाङ तङ्नाममा लाम्लिङ्गेन–लारिङ्गेक खेल्दै आएको हो ।

यसै क्रममा यसवर्ष पनि कुरुम्बाङ सङ्जोम्भो उपत्यका समितिले उपत्यकाको तीन जिल्लामा रहेका दाजुभाइ तथा चेलीबेटीको घरआँगनमा पुगेर देउसी–भैलो खेलेको हो ।

उपत्यका समितिका अध्यक्ष मिनप्रसाद कुरुम्बाङको अध्यक्षता एवं संयोजत्वमा आयोजित कार्यक्रममा कुरुम्बाङ दाजुभाइको उल्लेख्य सहभागिता रहेको थियो । दुई दिनसम्म आयोजना गरिएको लाम्लिङ्गेन–लारिङ्गेक कार्यक्रम भाइटिकाको अघिल्लो दिन सङ्जोम्भोका केन्द्रीय अध्यक्ष तेजेन्द्र कुरुम्बाङको सातदोबाटोस्थित निवासमा सम्पन्न गरिएको थियो ।

कार्यक्रमबाट संकलित रकम सङ्जोम्भोको कोषमा जम्मा गरिने उपत्यका समितिका अध्यक्ष मिनप्रसाद कुरुम्बाङले बताए । उनले भने, ‘वर्षदिनमा आउने चाड बलिहाङ तङ्नामको अवसरमा भेटघाटको अवसरसँगै रमाइलो गर्ने हेतुले सुरुवातदेखि नै लाम्लिङ्गेन–लारिङ्गेक आयोजना गर्दै आएका हौँ । यस वर्ष त्यसैलाई निरन्तरता दिइएको हो ।’

कार्यक्रमबाट संकलित रकममध्येबाट यातायात, कलाकार तथा प्राविधिक खर्च कटाएरको बाँकी रहेको रकम सङ्जोम्भोको कोषमा जम्मा गरिने उनले बताए । कार्यक्रममा कुरुम्बाङ समु्दायबाट सामाजिक, व्यापारिक एवं विभिन्न क्षेत्रमा रहेर प्रतिष्ठा प्राप्त व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नाम्लिङ्गेन–लारिङ्गेकका अलावा केलाङ, लिम्बू भाषाको नृत्यलगायत विभिन्न मनोरञ्जनात्मक प्रस्तुती पस्किएको थियो ।

प्रतिक्रिया