कोशीमा यसरी टुंग्याइयो सत्ता गठबन्धनबीच भागबण्डा
अखबार टुडे
प्रकाशित:
२०८०, २५ कार्तिक

विराटनगर । कोशी प्रदेशमा सत्ता गठबन्धन दलहरुले मन्त्रालय भागबन्डा टुंग्याएका छन् । शनिबार बसेको सत्ता गठबन्धन दलको बैठकमा मन्त्रालय भागबन्डाबारे सहमति जुटेको माओवादी केन्द्र कोशी संसदीय दलका नेता इन्द्र आङ्बोले जानकारी दिएका हुन् ।

भागबण्डा अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ४ मन्त्रालय, माओवादी केन्द्रले ३ मन्त्रालय तथा जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले १/१ मन्त्रालय पाउने भएका छन् ।

कोशी सरकारमा हाल कांग्रेसबाट शम्शेर राई, माओवादीबाट गणेश उप्रेती र एकीकृत समाजवादीबाट कमल जबेगु मन्त्री छन् । सहमतिअनुसार अब कांग्रेसबाट थप दुईजना, माओवादीबाट दुईजना र जसपाबाट एकजना मन्त्री बन्ने भएका छन् ।

नेता आङ्बोका अनुसार गठबन्धन सहमतिमा पुगेका कारण तिहारलगत्तै मन्त्रिपरिषद् विस्तार हुनेछ । कुन दलले कुन मन्त्रालय पाउने भन्नेबारे भने सहमति भइसकेको छैन । प्रदेशको संसदीय समितिको भागबन्डाबारे भने अन्य दलहरुसँगको छलफलपछि मात्र निर्णय हुने बताइएको छ ।

शनिबार बसेको बैठकमा सरकारले अध्यादेशमार्फत ल्याउने बजेट प्रतिस्थापन विधेयकमा निश्चित मापदण्ड बनाएर संसोधन गर्ने सहमतिसमेत भएको नेता आङ्बोले बताए ।

कांग्रेसबाट विद्रोह गरेर केदार कार्की कोशीको मुख्यमन्त्री बनेका थिए । उनलाई मुख्यमन्त्री बनाउन सघाउने एमाले भने सरकारबाट बाहिरिसकेको छ । मुख्यमन्त्री कार्कीले सहमतिविपरित माओवादी र एकीकृत समाजवादीलाई सरकारमा ल्याएको भन्दै एमाले सरकारबाट बाहिरिएको हो । तर, सरकारलाई दिएको समर्थन भने कायम राखेको छ ।

प्रतिक्रिया