काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहितको टोली भूकम्पबाट क्षति भएको क्षेत्र अवलोकन तथा राहत र उद्धार कार्यको अनुगमन गर्न प्रभावित क्षेत्र पुगेको छ ।
बुधबार समितिको टोलीले सुर्खेतलाई केन्द्र बनाएर भइरहेको राहत संकलन र व्यवस्थापनको कामको अनुगमन गरेको हो । समितिका सभापति खतिवडाले राहत वितरणलाई शीघ्र व्यवस्थित गर्न निर्देशन दिइएको बताए ।
उनले भने, ‘भूकम्पबाट अहिलेसम्म करिब १६ हजार घरहरू पूर्ण क्षति भएको तथ्य रहेछ । करिब २ अर्ब ५५ करोड बराबरको धनमालको क्षति भएको आकलन पाइयो । भूकम्पमा मृत्यु भएका १५३ जनामध्ये अब एक जनाकोमात्रै अन्तिम संस्कार हुन बाँकी रहेछ । त्यसपछि सबैको ध्यान राहत र घाइतेको उपचारमा केन्द्रित गर्नुपर्ने देखिएको छ ।’
उनका अनुसार समितिले सरकारलाई कुनै आर्थिक व्ययभार नगरी स्थलगत अनुगमन र सरकारको ध्यानाकर्षण गराउन लागेको हो । उनले भने, ‘हामी आफ्नै खर्चमा यहाँसम्म आएका छौँ । प्रभावित क्षेत्रमा पुगेर पनि त्यहाँको संरचनामा काम गरिरहेका कसैलाई पनि असर पु¥याउँदैनौँ ।’ भीआइपीहरू आउँदा प्रशासनिक संरचनामा असर पर्ने अवस्था भयो भने राहत वितरण र व्यवस्थापन प्रभावित हुने चिन्ता रहेको उनले बताए ।
सांसदहरूले बुधबार बिहान सुर्खेतमै रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहित सुरक्षा निकायका अधिकारीसँग छलफल गरेको छ । सो क्रममा राहात वितरण एवं आवश्यक उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर सुर्खेतमा तयारी हालतमा राखिएको, सबै घाइतेको उपचार भइरहेको, हाल एकजना घाइतेमात्र आइसियुमा रहेका र अहिले अस्पतालमा ९९ जना घाइते उपचाररत रहेको पाइएको खतिवडाले बताए ।
टोलीमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडू, एमाले सांसद कृष्णप्रसाद श्रेष्ठ, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङलगायत सांसद्हरू सहभागी छन् ।