सरकारले भन्यो- अब राहत वितरणमा जोड
अखबार टुडे
प्रकाशित:
२०८०, १९ कार्तिक

काठमाडौं । सरकारले भूकम्प पीडितहरुको उद्दार कार्य प्रभावकारी रुपमा भएको जनाएको छ । आइतबारको मन्त्रिपरिषद्को बैठकले उद्धारको काम प्रभावकारीरूपमा भएको निष्कर्ष निकाले हो ।

साथै, करिबकरिब उद्दार कार्य सकिएको र अब राहत वितरण कार्यमा जोड दिने सरकारले जनाएको छ । साथै, मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत पु¥याउने गरी तयारी थाल्ने निर्णय गरेको छ ।

‘करिबकरिब उद्धारको काम सकिएको छ । अब राहत वितरणमा जोड दिन्छौं’ बैठकपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने, ‘मन्त्रिपरिषदले सहयोगका लागि विभिन्न दातृ निकाय, अन्तर्राष्ट्रिय संघ–संस्थालाई पनि अपिल गरेको छ ।’

आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले एकद्वार प्रणालीमार्फत् राहत वितरण गर्ने निर्णय गरेको छ ।
मन्त्री ज्वालाले भने, ‘संघ–संस्था, राजनीतिक दल, तिनका भ्रातृ संस्था जसजसले सहयोग गर्नुहुन्छ। सरकारी कोषमा जम्मा गर्नुपर्ने छ । सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय भएको छ । उनले राहत संकलनको पहिलो केन्द्र सुर्खेत र दोस्रो नेपालगञ्ज हुने बताए ।

उनले उपचारको पहिलो केन्द्र नेपालगञ्ज र दोस्रो सुर्खेत बनाइएको पनि बताए । उनले अब बन्ने भौतिक संरचना विपद्लाई ध्यानमा राखेर बनाइनुपर्ने र विपद् पूर्वतयारीका लागि जिल्ला तहका संयन्त्रलाई प्रभावकारी बनाएर लैजाने नीतिगत निर्णय भएको पनि बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले भूकम्पबाट घाइते भएका सबैको सरकारले निःशुल्क उपचार गर्ने मन्त्रालयको निर्णयलाई मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको बताए ।

भूकम्प प्रभावित तीन जिल्ला (जाजरकोट, रूकुम पश्चिम र रूकुम पूर्व)का लागि राहत र पुनर्वासका लागि मन्त्रिपरिषदमा विषय प्रवेश भएको र आज कुनै निर्णय नभएको बस्नेतले बताए ।

प्रतिक्रिया