जाजरकोट भूकम्प अपडेट : एक सय बढीको मृत्यु, सयौँ घाइते
अखबार टुडे
प्रकाशित:
२०८०, १८ कार्तिक

काठमााडौ । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ । ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण घर भत्किँदा जाजरकोट र रुकुम पश्चिममा गरी एक सय जनाभन्दा धेरैको ज्यान गएको छ ।

जाजरकोटमा मात्रै ९२ जनाको ज्यान गएको पुष्टि गर्दै प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए धेरै घाइते भएको र उद्धारको काम भैरहेको उनले बताए । उनका अनुसार भूकम्पका कारण सयौँ घर भत्किएका छन् । जाजरकोटको भेरी नगरपालिकामा मात्रै ३५ जनाको ज्यान गएको छ । जाजरकोटकै नलगाड नगरपालिकामा उपमेयर सरिता सिंहसहित ५० जनाभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, रुकुम पश्चिममा भूकम्पबाट २७ जनाको ज्यान गएको छ । १ सय ४२ जनाभन्दा धेरै घाइते भएका छन् । रुकुम पश्चिमका आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । जाजरकोट र रुकुम पश्चिमका सयौँ घरगोठ भत्किएका छन् ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले रातिदेखि नै खोज तथा उद्धारको काम भइरहेको जानकारी दिए । अहिले घाइतेहरुलाई अस्पताल पठाउने र प्रभावित क्षेत्रमा प्रहरी तथा स्वास्थ्यकर्मी पठाउने काम पनि भइरहेको उनको भनाइ छ । कतिपय ठाउँमा भूकम्पपछि पहिरो जाँदा सडक अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भएको छ । सडक पन्छाउने काम भइरहेको डीआईजी ढकालले बताए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का काठमाडौसहित देशका धेरै ठाउँमा महसुस भएको थियो ।

प्रतिक्रिया