माओवादीले किन गर्यो सडक प्रदर्शन गर्ने निर्णय ?
अखबार टुडे
प्रकाशित:
२०८०, १४ कार्तिक

काठमाडौं । सरकारको नेतृत्व गरिहेको नेकपा माओवादी केन्द्रले मंसिर तेस्रो साता सडक प्रदर्शन गर्ने निर्णय गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुने प्रयास भइरहेको भन्दै माओवादीले मंसिर २२ गते देशव्यापी प्रदर्शन गर्ने तयारी गरेको हो ।

पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । यसैलाई आधार मान्दै लोकतन्त्र र संघीय गणतन्त्रमाथि प्रहार भइरहेको माओवादीको बुझाइ छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि प्रदर्शनको तयारी गर्न केन्द्रीय समितिले तलका सबै समितिलाई परिपत्र गरेको छ । पूर्वराजावादीहरूको नाम नलिई प्रतिगमनकारीको चलखेलविरुद्ध प्रदर्शन गर्ने माओवादीले निर्णय गरेको हो । माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताको रक्षाका लागि जनपदर्शन गर्ने पार्टीले निर्णय गरेको हो ।

पार्टी सरकारमा भएपनि, नभएपनि संघीयता, गणतन्त्र बलियो गर्नु जनपरिचालन गर्नु कर्तव्यअन्तर्गत पर्ने बताउँदै उनले लोकतन्त्र, संघीयताको सुदृढीकरणका लागि देशव्यापी प्रदर्शन गर्ने निर्णय भएको बताए । उनले भने, ‘यो कसैप्रति लक्षित होइन ।’

नेकपा माओवादीले संगठन सुदृढीकरणका लागि विशेष रूपान्तरण अभियान पुस १५ गतेसम्म गर्ने भएको छ । ‘माओवादी विशेष रूपान्तरण अभियानले पार्टी संगठन सुदृढीकरणका लागि महत्त्वपूर्ण सुझाव आएका छन्’ प्रवक्ता सापकोटाले भने, ‘ती सुझावलाई लिएर अघि बढ्छौँ । हामीले आफ्नो कुराभन्दा जनताका गुनासा सुनेका छौँ ।’

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात प्रदेशका सात वडामा जाने कार्यक्रमअन्तर्गत गत साता रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको वडा बैठकमा सहभागी भएका थिए । माओवादी सचिव चक्रपाणी खनालले संगठन रूपान्तरण अभियानसँगै गणतन्त्रलाई बलियो बनाउन कार्यक्रम थपिएको बताए । उनले भने, ‘सरकार, सदन, र सडकबाट गणतन्त्र, संघीयता बलियो बनाउने पार्टी नीतिअनुसार कार्यक्रम तय भएका हुन् । पार्टी अभियान एक महिना थपिएको छ ।’

साउन तेस्रो साता बसेको केन्द्रीय समिति बैठकले तीन महिने संगठन सुदृढीकरण अभियान गर्ने निर्णय गरेको थियो । सरकारको नेतृत्व गरे पनि संगठन कमजोर हुँदै गएको बैठकमा व्यापक प्रश्न उठेपछि रूपान्तरणका लागि गाउँ फर्कने निर्णय गरेको थियो ।

माओवादीले पार्टीको कार्यक्रममा जनसेवा, अन्तरक्रिया, सांस्कृतिक कार्यक्रमसँगै सरकारले अघि सारेका भ्रष्टाचार विरोधी अभियानलाई पनि जोडेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले सरकारको सुशासनको अभियानलाई गाउँगाउँ पु¥याउन निर्देशन दिएका थिए । सरकारले गरेको कामलाई सडकबाट दबाब दिन माओवादीले कार्यक्रम बनाएको थियो ।

तीन महिने अभियान सकिएलगत्तै माओवादीले माघमा विधान अधिवेशन गर्ने तयारी गरेको थियो । पार्टी अभियान एक महिना बढाइएकाले विधान अधिवेशन पछि सरेको माओवादीले जनाएको छ ।

प्रतिक्रिया