सन् २०३४ को विश्वकप फुटबल साउदी अरेबियामा
अखबार टुडे
प्रकाशित:
२०८०, १४ कार्तिक

काठमाडौं । सन् २०३४ को विश्वकप फुटबल साउदी अरेबियामा हुने भएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले यसको औपचारिक घोषणा गर्न भने बाँकी छ । एसिया वा ओसिआनामा २०३४ को विश्वकप आयोजना गर्ने निर्णय गरेको फिफाले आयोजनाका लागि प्रस्ताव गर्न दिएको समयसीमा बुधबार सकिँदैछ ।

समय सकिनु केही घन्टाअघि फुटबल अष्ट्रेलियाले २०३४ को विश्वकप आयोजनाका लागि प्रतिस्पर्धा नगर्ने निर्णय गरेसँगै विश्वकप साउदी अरबियामा हुने पक्का जस्तै भएको हो । सन् २०२६ को महिला एसियन कप र २०२९ को क्लब वर्ल्ड कप आयोजनामा केन्द्रित हुन यो निर्णय लिएको अष्ट्रलियाले बताएको छ । अष्ट्रेलियाले यसैपाली महिला विश्वकप फुटबल आयोजना गरेको थियो ।

अष्ट्रेलियाले २०३४ को विश्वकप आयोजनामा दाबी नगर्ने निर्णय गरेसँगै विश्वकप आयोजनाको दौडमा साउदी अरेबिया एक्लो देखिएको छ । यो अधिकार साउदीले पाएमा १२ वर्षमै दोस्रोपटक एसियामा विश्वकप आयोजना हुनेछ । कतारले गतवर्ष विश्वकपको सफल आयोजना गरेको थियो ।

सन् २०२६ को विश्वकप अमेरिका र क्यानडामा तथा सन् २०३० को विश्वकप भने मोरक्को, पोर्चुगल र स्पेनमा हुने छ । सन् २०३० मा विश्वकप फुटबल सुरु भएको १०० वर्ष पुग्ने भएकाले अर्जेन्टिना, पारग्वे र उरुग्वेले केही संस्मरणात्मक खेल आयोजना गर्ने छन् ।

प्रतिक्रिया