बागमती प्रदेश सरकारद्वारा संघीय सरकारविरुद्ध रिट
अखबार टुडे
प्रकाशित:
२०८०, १३ कार्तिक

हेटौंडा । संघीय सरकारविरुद्ध बागमती प्रदेश सरकारले रिट दायर गरेको छ । संघीय संसदबाट शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐन २०७९ पारित गरी २०७९ असोज ९ गते राजपत्रमा प्रकाशित गरेपछि प्रदेश सरकारले संघीय सरकारविरुद्ध रिट दायर गरेको हो ।

संविधानको अनुसूची ६ मा प्रदेशको एकल अधिकार सूचीमा सवारीसाधन कर, यातायात र प्रदेश लोकमार्ग उल्लेखित गरिएपनि संघीय सरकारले प्रदेशको अधिकार मिचेर सार्वजनिक यातायात प्राधिकरण ऐन पारित गरेको भन्दै बागमती प्रदेश सरकारले सोमबार रिट दायर गरेको हो ।

प्रदेश सरकारको अधिकार कटौति हुने गरि ऐन नबनाउन अनुरोध गरेपनि संघीय सरकारले राजपत्र प्रकाशन गरेपछि बागमती प्रदेश सरकारले गत भदौ २७ गते संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार रिट दायर गरिएको बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले जानकारी दिएका छन् ।

सर्वोच्च अदालतमा रिट दायर गरेपछि लम्सालले प्रदेशको अधिकार क्षेत्र मिच्नेगरि संघीय कानुन बनाइ संघीयताको अतिक्रमण भएको विषयमा बागमती सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण भएको र रिट दायर गरेको जनाएका छन् ।

संविधानको भावना एवं अधिकारको अतिक्रमण रोक्न संघीयता परिपक्व बनाउन बागमती प्रदेश सरकारको निर्णयअनुसार श्रम, रोजगार तथा यातायात मन्त्रालयले रिट दायर गरेको उनको भनाइ छ ।

प्रतिक्रिया