हामीले पुनः जाँचिनुपर्छ भने तयार छौँ : अध्यक्ष नेपाल
अखबार टुडे
प्रकाशित:
२०८०, ११ कार्तिक

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुराना दलहरूका अगाडि संकट सिर्जना भएको भन्दै अब टाउको समाएर बस्नु नहुने बताएका छन् । शनिबार नेपाली कांग्रेसले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुँदै अध्यक्ष नेपालले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा सो कुरा बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, ‘सबै पार्टीमा विभिन्न व्यक्ति आवद्ध हुनसक्छन् । एकअर्कासँग प्रतिस्पर्धा गर्न सक्छन् । प्रतिस्पर्धालाई ध्यानमा राखेर प्रत्येक पार्टीले जनताको विषयवस्तुलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नुपर्छ ।’ अहिले नयाँ दलहरू अग्नि परीक्षामा रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, ‘हामी अग्निपरीक्षामा छौं । हामीले पुनः जाँचिनुपर्छ भने हामी तयार छौं । अहिलेको संकटमा निराश भएर टाउको समाएर मात्रै हुँदैन ।’

नेपाली समाज रहुन्जेल, नेपाली जाती रहुन्जेल, उनीहरुले अपनाउँदै आएका सांस्कृतिक परम्पराहरू अनुसार जातीय सद्भाव कायम गर्नपर्ने उनको भनाइ थियो ।

सञ्चारकर्मीले गरेको पुराना दलमाथि उठिरहेको प्रश्नबारे अध्यक्ष नेपालले भने, ‘वास्तवमा विगतमा पनि अप्ठेरो बेलामा, संकटको बेलामा, चुनौतीको बेलामा, परिवर्तनको आवश्यक्ताको बेलामा हातेमालो गर्दै अघि बढिएको छ । अहिले नकारात्मक विषयलाई मात्रै नभई सकारात्मक विषयमा पनि हातेमालो गर्दै अघि बढ्नुपर्छ ।’

मूल प्रवाहका राजनीतिक दलहरूले बिराउन थालेपछि जनताले खबरदारी गरेको उल्लेख गर्दै उनले भने, ‘जनताले खबरदारी गर्छन् । त्यो जनताको कर्तव्य हो । हामी विचलित नभई देश र जनतामा आफूलाई समर्पित गर्न सक्नुपर्छ ।’ संयुक्त राष्ट्रसंघका महासचिव नेपाल भ्रमणमा आउन लागेको विषयमा बोल्दै अध्यक्ष नेपालले त्यसले सकारात्मक सन्देश विश्वमा दिनेगरी अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया