मुगुमा सामुहिक हत्या प्रकरण : प्रहरीले थाल्यो अनुसन्धान
अखबार टुडे
प्रकाशित:
२०८०, १० कार्तिक

सुर्खेत । मुगुमा चार जनाको सामुहिक हत्या प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ । तीन छोराछोरीसहित आमाको शव फेला परेको विषयमा प्रहरीले अनुसन्धान थालेको हो ।

शुक्रबार बिहान छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो ।

उनीहरूको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको घटनास्थलमा रहेका मुगुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घटनास्थलको अवस्था हेर्दा हत्या नै भएको प्रहरीको दाबी छ । यद्यपि, हत्या गरिएको विषय भने थप अनुसन्धानबाटै खुल्ने प्रहरीको भनाइ छ ।

प्रहरी प्रमुख थापाका अनुसार मृतक आमा श्रीदेवी छोराछोरीसहित कात्तिक ७ गते दसैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् । माइतीबाट टीका लगाइसकेपछि उनी कातिक ८ गते बेलुका नै घर फर्किएकी थिइन् ।

अहिलेसम्मको अनुसन्धानबाट सोही राति सामूहिक हत्या गरिएको अनुमान प्रहरीको छ । यद्यपि प्रहरीलाई भने शुक्रबार बिहान ११ बजेमात्रै खबर भएको थियो । बिहीबार बिहानैदेखि घर बाहिर ताला लगाएको देखेपछि छिमेकीले बिहानै सिमी टिप्न खेततिर गएका होलान् सोचेका रहेछन् ।

शुक्रबार (आज) बिहानसम्म पनि ताला लगाएको देखेपछि स्थानीयले बिहान साढे ९ बजेतिर स्थानीयले ढोकाको ताला तोडेका थिए । ढोका खोलेर हेर्दा घरभित्र चारैजना मृत अवस्थामा भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो ।

कात्तिक ८ गते बेलुका ६ बजेतिरै श्रीदेवी माइती फर्किएको र त्यसको केही समयपछि कोही आएर सामूहिक हत्या गरेर घरको मूल ढोकामा त्यही घरको ताल्चा लगाएर भागेको हुनसक्ने अनुमान स्थानीयको छ ।

श्रीदेवीको माइजू रेशा बोहोराका अनुसार घर वरपरका सबै मावली नाता पर्ने मात्रै छन् । त्यो भएकाले वरपर कसैसँग दुस्मनी रहेको आफूले थाह नपाएको उनको भनाइ छ । मृतकमा श्रीमान् दीपक वैदेशिक रोजगारीमा कतारमा छन् । घटना घटेपछि उनी फर्कने तयारीमा रहेका छन् ।

मन्दु गाउँ जिल्ला सदरमुकामदेखि २ घण्टा टाढा रहेको छ । प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका भन्छन्, ‘कात्तिक ८ गते बेलुकासम्म पनि श्रीमानसँग सम्पर्कमा रहेको पाइयो । ९ गते बिहान हेर्दा ढोकामा चाबी लगाएको देखियो । आज बिहान श्रीदेवीका मामाले ढोका तोडेर हेर्नुभएको रहेछ ।’

उनका अनुसार हत्याको प्रकृति ठुलो कुनै रिसिइबी जस्तै भएर मारिएको जस्तो छ । ‘नभए अन्य कुनै कारणले बालबच्चालाई त्यसरी मार्नुपर्ने कारण कुनै देखिँदैन,’ उनले भने, ‘विभत्स तरिकाले हत्या गरिएको देखिएको छ । टाउकोमा प्रहार भएको छ । रगत नै रगतले भरिएको छ ।’

प्रहरीले घटनास्थल अहिले सिल गरेको छ भने प्रहरीले त्यहीँ पहरा दिइरहेको छ । अनुसन्धानका लागि माथिल्लो निकायबाट अनुसन्धान टोली मुगुतर्फ गइसकेको अवस्था छ । घटनाको अनुसन्धान शाखाका वरिष्ठ सई नारायण शर्माको नेतृत्वमा पाँच जनाको टोली खटेका छन् ।

प्रतिक्रिया