त्रिकोणात्मक टी-२० : उपाधिका लागि नेपाल र युएई भिड्ने
अखबार टुडे
प्रकाशित:
२०८०, ८ कार्तिक

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० श्रृंखलाको फाइनलमा युएई प्रवेश गरेको छ । हङकङसँग हारका बाबजुद रनरेटका आधारमा यूएईले फाइनलमा स्थान बनाएको हो । यसअघि चारवटै खेलमा अविजित रहेर नेपाल फाइनलमा पुगिसकेको छ । अब उपाधिका लागि नेपाल र यूएई शुक्रबार भिड्नेछन् ।

यसअघि समूह चरणमा हङकङलाई यूएईले ६ विकेटले पराजित गरेको थियो । यस्तै, बुधबार म्याचअघि यूएईको रनरेट ०.००५ थियो भने हङकङको रनरेट –२.६८८ थियो । रनरेट कमजोर भएकाले फाइनल प्रवेशका लागि हङकङलाई यूएईविरुद्ध फराकिलो जित चाहिन्थ्यो । हङकङले ६९ रनको ठूलै मार्जिनले जित्यो, तर त्यो पर्याप्त भएन । त्यसैले जितका बाबजुद हङकङ खेलाडी पराजित मनस्थितिमा र हारका बाबजुद यूएई टीम विजयी मनस्थितमा थिए ।

हङकङले बुधबार टस जितेर ब्याटिङ रोजेको थियो र विशाल स्कोर खडा गर्न पनि सफल भएको थियो । ओपनर मार्टिन कोयट्जिले ५५ बलमा ८६ रन बनाउँदै हङकङको इनिङ सम्हालेका थिए भने चौंथो नम्बरमा आएका बाबर हायातले विष्फोटक इनिङ खेल्दै २० बलमा ५ छक्का र ५ चौकाको मद्दतमा ६० रन बनाए ।

हङकङले निर्धारित २० ओभरमा ३ विकेट मात्र गुमाएर २१२ रन बनायो । २१३ रनको विजयी लक्ष्य यूएईका लागि चुनौतीपूर्ण थियो । त्यसमाथि १९ रनमै तीन विकेट गएपछि यूएई संकटमा देखियो । त्यसपछि उसले लक्ष्य पछ्याउने भन्दा पनि फाइनलका लागि हङकङभन्दा राम्रो रनरेट कायम गर्ने लक्ष्यसहित ब्याटिङ शैलीमा परिमार्जन ग¥यो ।

यूएईले ७० रनमा चौंथो विकेटका रुपमा खालिद साह र पाँचौं विकेटका रुपमा ८१ रनमा अलिसान सराफुलाई गुमायो । त्यसपछि फेरि हङकङको आशा जाग्यो । तर, बासिल हमिद र निलांस केशवानीले धैर्यपूर्वक ब्याटिङ गरे ।

यूएईले हङकङको भन्दा राम्रो रनरेट कायम गर्नका लागि २० ओभरमा ५ विकेट क्षति हुँदा १३५ रन जोडनुपर्ने थियो । दुवै ब्याट्सम्यानले सिंगल र डबल लिँदै उक्त लक्ष्यतर्फ अघि बढे । वास्तविक लक्ष्य धेरै टाढा भए पनि फाइनल प्रवेशको दौडका कारण खेल रोमाञ्चक बन्यो ।

यूएईलाई अन्तिम ओभरमा ४ रन चाहिएको थियो भने हङकङलाई एक विकेट । तर, हङकङले विकेट लिन सकेन । यूएई झिनो अन्तरले रनरेटमा हङकङलाई पछि पार्दै फाइनलमा प्रवेश गरेको हो ।

प्रतिक्रिया