सलमान खान र अरिजीत सिंहबीचको विवाद मिलेको हो ?
अखबार टुडे
प्रकाशित:
२०८०, २ कार्तिक

काठमाडौं । बलिउड अभिनेता सलमान खानको नयाँ फिल्ममा गायक अरिजीत सिंहले गाउने भएका छन् । झण्डै ९ वर्षपछि सलमानले अरिजीतलाई गाउने दिने भएका हुन् ।

नौ वर्षअघि अरिजीतसँग विवाद भएपछि सलमान खानले आफ्नो फिल्ममा गाउन नदिने बताएका थिए । तर, अहिले आएर सलमान खानले आफ्नो आगामी फिल्म ‘टाइगर–३’मा अरिजीत सिंहलाई गीत गाउने अवसर दिएका छन् । यससँगै सलमान र अरिजीतको विवाद कसरी मिल्यो भन्ने उनीका फ्यानले प्रश्न उठाएका छन् भने उनीहरु खुसी पनि भएका छन् । अरिजीत बलिउडका चर्चित गायक हुन् ।

बिहीबार अभिनेता सलमानले सामाजिक सञ्जालमार्फत एक तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘पहिलो गीतको पहिलो झलक– लेके प्रभुका नाम । मेरो लागि अरिजीत सिंहको पहिलो गीत । यो गीत २३ अक्टोबरमा सार्वजनिक हुनेछ ।’ सन् २०१४ मा सलमानले एक अवार्ड कार्यक्रम होस्ट गरिरहेका थिए । उक्त अवार्ड कार्यक्रममा अरिजीत सिंह फिल्म ‘आशिकी–२’को ‘तुम हि हो’ गीतबाट अवार्ड लिन गएका थिए ।

अरिजीत साधारण चप्पल र हाफ ट्राउजरमा अवार्ड लिन पुगेका थिए । जब अरिजीत स्टेजमा पुगे, तब सलमानले उनलाई सोधे, ‘निदाई रहनु भएको थियो ?’

अरिजीतले जवाफ दिएका थिए, ‘तपाईहरूको शो हेर्दा हेर्दै निदाएको हुँ ।’ अरिजीतको उक्त जवाफपछि सलमान आक्रोशित हुँदै भनेका थिए, ‘यसमा हाम्रो कुनै दोष छैन, यस्ता गीत बजेपछि निन्द्रा त लागिहाल्छ नि ।’ यस विवादपछि अरिजीतले सलमानसँग माफीसमेत मागेका थिए ।

प्रतिक्रिया