गाजामा सहायता सामग्री पुर्याउन सीमा खोल्ने सम्झौता
अखबार टुडे
प्रकाशित:
२०८०, २ कार्तिक

काठमाडौं (एजेन्सी) ।अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार युद्धग्रस्त गाजामा अत्यन्त जरुरी मानवीय सहायता पुर्याउन अनुमति दिने एक सम्झौता सुरु गरेको छ । गाजाबाट इजराइली हमलाका बीच १० लाखभन्दा बढी सर्वसाधारण आफ्नो घर छोडी भागेका छन् ।

इजराइलमा प्रत्यक्ष भेटवार्ता र इजिप्टसँग गहन टेलिफोन वार्तापछि इजिप्टबाट गाजामा प्रवेश गर्नका लागि बन्द भएको रफाह पार गर्न शुक्रबारदेखि सीमित सङ्ख्यामा ट्रकहरूलाई अनुमति दिइने बाइडेनले बताए ।

अक्टोबर ७ यता गाजामा प्रवेश गर्ने यो पहिलो अन्तर्राष्ट्रिय राहत हुनेछ । अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले इजराइलमा आक्रमण गर्दा अधिकांश सर्वसाधारणसहित एक हजार चार सयको मृत्यु भएको छ भने हमासले करिब दुई सयलाई बन्धक बनाएको छ ।

त्यसयता इजराइलले प्यालेस्टिनी क्षेत्रलाई घेरा हालेको छ र हवाई हमला सुरु गरेको छ । साथै प्यालेस्टिनी क्षेत्रमा नाकाबन्दी लगाएको छ र अपेक्षित जमिन आक्रमणको तयारीका लागि दशौँ हजार सेनालाई सीमामा परिचालन गरेको छ ।

संयुक्त राष्ट्रसङ्घ र मानवतावादी समूहहरूले गाजामा सैन्य पकडलाई कम गर्न पानी, खाद्यान्न, इन्धन र औषधिहरूको आपूर्तिको अनुमति दिन आग्रह गरेका छन् ।

राष्ट्रसङ्घीय मानवअधिकारवादी शीर्ष अधिकारी मार्टिन ग्रिफिथ्सले बुधबार गाजामा स्थिति गम्भीर रहेको भन्दै घाइतेले अस्पताल भरिएको, तीन हजार गाजाबासी मारिएको र १२ हजार पाँच घाइते भएको बताए ।

विनाशका बावजुद गाजामा प्रवेशका लागि इजिप्टतिरको सीमा क्षेत्रमा एक सयभन्दा बढी ट्रक लाइन लागेका छन् । इजराइलले सहायता सामग्री पुर्याउने निहुँमा हतियार हमासको हातमा पुग्न सक्ने चिन्ता व्यक्त गरेको छ । दशकौँदेखिको सङ्घर्षको यो चरण सुरु भएपछि इजराइलले सीमापार क्षेत्रमा कयौँ हवाई हमला गरिसकेको छ ।

सीमामा नियन्त्रण गरेको इजिप्टलाई प्रवेशद्वार खोल्दा दशौँ हजार शरणार्थी आफ्नो भूमिमा आउने चिन्ता छ । अमेरिकी राष्ट्रपति बाइडेनले सुरुमा करिब २० वटा ट्रक गाजामा प्रवेश गर्ने र सबै पक्षबीच सहमति भए अरु ट्रक पठाइने बताए ।

प्रतिक्रिया