
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको मिसन–२०८४ एकल बहुमतको सरकार रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेको समृद्ध नेपाल, सुखी नेपाली आवधिक लक्ष्य मिसन २०८४ मा एकल बहुमतको सरकारको भएको बताएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले जनताका बीचमा गए, सम्झाए, जनताबाट मत प्राप्त गरे उक्त मिसन असम्भव नरहेको बताए । उनले भने, ‘अहिले हामी मिसन २०८४ भनेर अघि बढिरहेका छौँ । हरेकको गन्तव्य, हरेकको उद्देश्य अब एउटा आवधिक लक्ष्य भन्ने हो भने हाम्रो समृद्ध नेपाल, सुखी नेपाली हो । त्यसको आवधिक टार्गेट मिसन २०८४ हो । मिसन ८४ भनेको के हो भने हामी एकल बहुमतको हाम्रो सरकार ।’
अध्यक्ष ओलीले कांग्रेसले आफूलाई अद्यावधिक गर्न नसकेको दावी गर्दै भने, ‘आफूलाई अध्यावधिक गर्न सकेन भने बूढो हुन्छ । हामी नेपाली कांग्रेसलाई देखिरहेका छौँ, पार्टी कसरी बूढो हुन्छ भन्दा नेपाली कांग्रेस जसरी । त्यो देखिएको छ । नेपाली कांग्रेसमा नीति छैन, महाधिवेशन हुन्छ नीति छैन ।’
