मुख्यमन्त्री कार्कीले भने- तत्काललाई मध्यावधि टर्‍यो
अखबार टुडे
प्रकाशित:
२०८०, २७ आश्विन

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले सांसदहरूको मध्यावधि रोक्ने कदमका कारण आफू मुख्यमन्त्री बनेको बताएका छन् । कोशीमा नयाँ गठबन्धन वा दलीय गठजोड नभएर सांसदहरूको मध्यावधि रोक्न सांसदहरूले चालेको उनको भनाइ छ ।

मुख्यमन्त्रीमा नियुक्त भइसकेपछि सञ्चारकर्मीसँग कुराकानीमा उनले अब कोशी प्रदेशमा तत्काल मध्यावधि टरेको र स्थिर सरकार बन्ने दावी गरे । मुख्यमन्त्री कार्कीले भने, ‘यो संविधानको धारा १६८ (५) बमोजिमको सरकार हो । यसमा पार्टीहरूको भूमिका हुँदैन, यो सांसदहरूले विवेक प्रयोग गर्न पाउने धारा हो । र अहिलेको यो परिणाम सांसदहरूको सामूहिक एकताले मध्यावधि रोक्नका लागि चालेको कदमको फल हो । अब संविधानले देखाएको बाटोअनुसार अघि बढ्छु ।’

प्रदेशमा कांग्रेस र माओवादी केन्द्रसहितको गबठन्धनकै मात्रै संख्याले सरकार बन्ने अवस्था नभएपछि आफूहरूले विकल्प खोजेको उनको भनाइ छ । ‘गठबन्धनको मात्रै संसद्को संख्याले सरकार चल्ने अवस्था थिएन, त्यसरी त प्रदेश मध्यावधिमा जानेवाला थियो । त्यसकारण यो दलहरूको गठबन्धन होइन, यो सांसदहरूको एकताको परिणाम हो’ उनले भने, ‘सांसदहरूले मध्यावधि रोक्नका लागि चालिएको कदम हो । यो मैले मात्रै होइन, यो सांसदहरूको सामूहिक अठोटले बनेको हो ।’

प्रतिक्रिया