मनसुन बाहिरिएसँगै नेपालमा पश्चिमी वायु
अखबार टुडे
प्रकाशित:
२०८०, २३ आश्विन

काठमाडौं । नेपालमा पश्चिमी वायु प्रवेश गरेको छ । नेपालबाट क्रमशः मनसुन बाहिरिँदै गर्दा पश्चिमी वायु बिस्तारै सक्रिय हुन थालेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन बाहिरिएपछि देशको पश्चिमी भागमा पश्चिमी वायुको प्रवेश सुरु भएको हो ।

महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार पूर्वबाट प्रवेश गर्ने भएकाले मनसुनलाई पूर्वीय वायु तथा पश्चिमबाट भित्रिने वायुलाई पश्चिमी वायु भनिएको हो । नेपालको पश्चिमी भागमा पश्चिमी वायुको सामान्य प्रभाव सुरु भएको र अहिले पश्चिमी वायु त्यस्तो धेरै सक्रिय रूपमा नरहेको उनको भनाइ छ । उनका अनुसार यसले पश्चिमी क्षेत्रमा सामान्य वर्षासम्म गराउनसक्छ ।

मनसुन पूरै नेपालबाट हटेपछि सशक्त रूपमा प्रवेश गर्ने पश्चिमी वायुले भने हिमाली भेग र आसपासका पहाडमा हिमपात गराउँछ । पश्चिमी वायुले खासगरी चिसो लिएर आउने मौसमविद् कँडेलले बताइन् ।

हाल सुदूरपश्चिम प्रदेशको पूरै क्षेत्र, कर्णालीका अधिकांश स्थान र लुम्बिनी प्रदेशको पश्चिमी भागबाट मात्र मनसुन हटेको छ । त्यसयतादेखि पूर्वसम्म अझै मनसुन वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायु र पश्चिमी भागमा पश्चिमी वायुको आंशिक प्रभाव छ । ‘यो हप्ताभित्र नेपालका थप स्थानबाट पनि मनसुन बाहिरिने अनुमान गरेका रहेको मौसमविद् कँडेलको भनाइ छ ।

प्रतिक्रिया